सरकारले कारोना नमूना परीक्षणको दायरा बढायो

सरकारले कारोना नमूना परीक्षणको दायरा बढायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९–को नमूना परीक्षणको दायरा बढाएको छ । आज आयोजित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को नमूना परीक्षणको सर्भिलेन्सको दायरा बढाइएको बताए ।

उनले विदेशबाट फर्किएका व्यक्ति र उनीहरुसँग नजिकैको सम्पर्कमा रहेका व्यक्तिलाई सम्भावित सङ्क्रमणको लक्षण देखिएको अवस्थाको अतिरिक्त ६० वर्ष भन्दामाथिका वृद्धवृद्धा, गम्भिर प्रकारको स्वासप्रश्वासका बिरामी, दीर्घरोगी र स्वास्थ्यकर्मीमा समेत सम्भावित सङ्क्रमणको लक्षण देखिएमा नमूना परीक्षणको व्यवस्था गरिएको जानकारी दिए ।

अहिलेसम्म शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा ६०० जनाको कोभिड–१९ को नमूना परीक्षण गरिसकिएको छ । जसमध्ये एकजना बाहेक अरु कसैमा पोजेटिभ नआएको प्रवक्ता डा देवकोटाले जानकारी दिए । फ्रान्सबाट गत मङ्गलबार नेपाल आउनुभएकी १९ वर्षीया एक युवतीलाई आइतबार परीक्षणका क्रममा कोभिड–१९ पोजेटिभ देखिएको थियो । अहिले उहाँको शुक्रराज अस्पताल टेकुमा उपचार भइरहेको छ ।

मन्त्रालयले खरिपाटीस्थित क्वारेन्टाइनलाई पुनःप्रयोगमा ल्याइएको र हाल त्यहाँ ७१ जना नेपाली र विदेशी नागरिकलाई राखिएको छ । प्रवक्ता डा देवकोटाका अनुसार सङ्क्रमित र सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकामा एक हजार श्यया, १२० अति सघन कक्ष र विभिन्न प्रदेशमा १२५ अतिसघन कक्ष थप्ने कार्य शुरु गरिएको जानकारी दिए ।

मन्त्रालयले अस्पतालमा प्रदान गरिरहेको विस्तारित स्वास्थ्यसेवा हाललाई दुई हप्ताका लागि स्थगन गर्ने र नियमित फ्लोअपमा आउने बिरामी (जसलाई तत्काल उपचार नगर्दा थप जोखिम हुँदैन) लाई आउँदो दुई हप्तासम्म फलोअपमा नबोलाउने, नियमित जाँच तथा शल्यक्रिया (जुन तत्काल नगर्दा बिरामीलाई थप जोखिम हुँदैन) आउँदो दुई हप्तासम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।