स्वास्थ्यको सूचना लिन बूढानीलकण्ठमा सातवटा हटलाइन सेवा

स्वास्थ्यको सूचना लिन बूढानीलकण्ठमा सातवटा हटलाइन सेवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैं – कोरोना भाइरसको सङ्क्रमणबाट नगरवासीलाई बचाउन स्वास्थ्य अवस्था, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीका बारेमा सूचना लिन बूढानीलकण्ठ नगरपालिकाले सातवटा हटलाइनको व्यवस्था गरेको छ ।

नगरपालिकाको कार्यालय र साविकका छ गाउँ विकास समितिमा एक-एक गरी सात हटलाइन सेवा शुरु गरिएको नगरप्रमुख उद्धवप्रसाद खरेलले जानकारी दिए । हटलाइनबाट दिउँसो सूचना लिने गरिएको छ । सूचना लिएर आवश्यक सेवा दिन सजिलो हुने भएकाले यस्तो व्यवस्था गरिएको हो ।

विदेशबाट आएका ३५ जना नगर क्षेत्रमा आफ्नै घरमा एकान्तवासमा छन् । विदेशबाट आई घरमै एकान्तवास बसेकाका बारेमा नगरपालिकाले नजिकबाट निगरानी गरिरहेको छ । नगरपालिकाको वडा नं. ७ हात्तीगौँडामा रहेको छहारी भवन भनिने महिला अधिकारका लागि एकल महिलाको भवनमा ५० श्ययाको क्वारेन्टाइन बनाउन सकिने गरी तयारी गरिएको नगर प्रमुख खरेलले बताए ।

मौसमी ज्वरो रुघाखोकी भएकालाई नगर क्षेत्रका छ वटा स्वास्थ्य चौकी र चार निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । निजी क्षेत्रबाट खुलेका अस्पताल ह्याम्स, न्यूरो, करुणा र कपनले आइसोलेसन श्ययाको व्यवस्था गरेका छन् ।

नगरपालिकाको कपन क्षेत्रमा खाद्यान्न नपाइने समस्या हुन थालेको छ । खुलेका खाद्यान्न पसललाई प्रहरीले नै बन्द गराउँदै हिँडेकाले अत्यावश्यक सामग्री पाउन नसकिएको उपभोक्ता रेणुका दवाडीले गुनासो गरे । कपन क्षेत्रमा धेरै मानिस खाद्यान्न पसलमा जम्मा भएकाले प्रहरीले बन्द गराएका हुनसक्ने नगरपालिकाले जनाएको छ ।

नगर प्रहरीसमेत खटाएर बिहान बेलुका भीड नगराई तीन फिटको दूरी कायम गरेर खाद्यान्न बिक्री वितरणको व्यवस्था गर्न लागिएको नगरपालिकाले जनाएको छ । ठूला पसलमा कति खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको मौज्दात छ भन्ने पहिचान गर्न नगरपालिकाले काम शुरु गरेको नगर प्रमुख खरेलले बताए।