काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको नाबेल कोरोना भाइरस (कोभिड–१९) बाट विश्व आतंकित बनिरहेको छ । नेपालमा रहेका विभिन्न विदेशी दूतावासहरुले आफ्ना नागरिकहरुदाई राज्य भएको अनुभव दिलाएको छ ।
उसले कोरोनाको संक्रमणबाट रोक्न लागि नागरिकहरुलाई सकुशल घर पुर्याएको हो । विभिन्न देशले नेपाललगायतका देशमा अलपत्र परेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ता लगिरहेको छ ।
नेपालबाट हिजो अष्ट्रेलियन सरकारले आफ्ना नागरीक नेपाल एयरलाइन्सबाट लगेको छ । अमेरिकाले कतार एयरबाट ३०२ जना लगेको छ भने युरोपियन युनियन आवद्ध मुलुकहरुले कतार एयरबाटै आफ्ना नागरिकलाई लगिसकेको छ । अहिले नेदरल्याण्डले मलेसियन एयरलाइन्सबाट आफ्ना नागरिक लग्दैछ ।
काठमाडौँस्थित जर्मन दूतावासले नेपालमा अलपत्र आफ्ना नागरिकलाई दुई वटा जहाज चार्टर गरेर फिर्ता लगिसकेको छ । शुक्रबार काठमाडौंबाट दोहा हुँदै कतार एयरवेजले एक सय ९० जनालाई स्वदेश फर्काएको हो ।
त्यस्तै फ्रान्सले पनि जहाज चार्टर गरेर आफ्ना नागरिक फिर्ता लगेको छ । त्यस्तै चीनले पनि नेपालमा रहेका आफ्ना नागरिक फिर्ता लाने तयारी गरिरहेको छ ।
तर, विदेशमा रहेका नेपालीहरुले राज्य भएको अनुभूति पाएका छैनन् । सरकारले नेपाल फिर्ता हुन चाहनेहरुलाई पनि ‘जहाँ हुनुहुन्छ त्यही बस्नुस्’ भनिसकेको छ ।
सरकारले भारतीय सीमा धार्चुलाबाट नेपाल प्रवेश गर्न लागेका आफ्ना नागरिकलाई नेपाल छिर्न दिएको छैन् । सरकारका मन्त्रीले उनीहरुलाई भारतमा खानेबस्ने व्यवस्था मिलाइएको बताइरहेका छन् । रोजगारीका लागि भारत गएकाहरु भारत सरकारले लकडाउन गरेपछि बिचल्लीमा परेका छन् ।
उनीहरुले खुला आकाशमुनी भोकभोकै रात काटिरेहका छन् । धार्चुलामा अहिले करिब ८ सय नेपाली अलपत्र परेका छन् । सरकारले नेपाल प्रवेश गर्न नदिएपछि ३ जना नेपाली महाकाली नदीमा जोखिम मोलेर छिरेका छन् । भारतीय सीमाबाट रोइकराई गरिरहेका नेपालीको बारेमा सरकारले कठोरता प्रर्दशन गरिरहेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका राजनीतिक दलहरुले सरकारले लाचारीपन देखाएको आरोप लगाइरहेका छन् । वैदेशिक रोजगारीमा विभिन्न देशमा रहेका नागरिकलाई स्वदेश फर्काउन कुनै पहल नगरेको भन्दै सरकारको चौतर्फी आलोचना भइरहेको छ ।




प्रतिक्रिया