कोरोना भाइरसले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

कोरोना भाइरसले महिलाभन्दा बढी पुरुषको मृत्यु किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिएको छ। यो महामारीसँगै एउटा चाखलाग्दो तथ्य लुकेको छ। त्यो हो– संक्रमणबाट मृत्यु हुनेमा हरेक देशमा महिलाभन्दा पुरुष बढी छन्। यस्तो किन ? आनीबानीका आधारमा यस्तो भएको विश्लेषण गरिएको छ। यो विश्लेषण केही हदसम्म तर्कसंगत पनि छ। चुरोट बढी तान्ने, समयमै स्वास्थ सेवा लिन अनिच्छुक र तुलनात्मक रुपमा हात कम धुनेमा महिलाभन्दा पुरुष बढी भएकाले यस्तो तर्क गरिएको हो।

तर यहाँ एउटा वैज्ञानिक तथ्यलाई बिर्सिएको छ। त्यो हो– जीवनको निरन्तर अस्तित्वको हिसाबले महिलाभन्दा पुरुष कमजोर लिंग हो। यो जीवनको कालखण्डमा एकपटक मात्र आउने महामारीका बेलाको प्रसंग मात्र होइन। लैंगिक हिसाबमा अन्तर्निहित जैविक फाइदा जीवनको हरेक चरणमा हुन्छ। उदाहरणका लागि पहिलो जन्मदिन मनाउने मौका केटालेभन्दा केटीले बढी पाउँछन्। एक सय वर्षभन्दा बढी उमेरका मानिसमा ८० प्रतिशत महिला छन् भने ११० वर्षभन्दा बढी उमेरकामा ९५ प्रतिशत महिला छन्।

बलिष्ठ मांसपेसी, उचाइ तथा आकारका हिसाबले पुरुष अगाडि रहे पनि जन्मदेखि जीवनको उत्तरार्धसम्म आइपर्ने भौतिक कठिनाइ झेल्नेमा आनुवांशिक महिला अनुवाशिंक पुरुषभन्दा अघि छन्। हामीले धेरै समयसम्म पुरुष छिटो मर्नुमा आनीबानीलाई प्रमुख कारण मान्यौं। तर महिलाको बाँच्न सक्ने क्षमता लैंगिक हिसाबले अहिले पनि पुरुषभन्दा अगाडि नै छ। त्यसो भए महिलाको आनुवांशिक श्रेष्ठताको पछाडि के कारण छ त रु यो वंशाणुभित्र रहने क्रोमोजोमको तहबाट सुरु हुन्छ।

अधिकांश औषधि पुरुष कोष, तन्तु, अंग, पुरुष जनावर र पुरुष परीक्षण विषयमा आधारित भएर बनाइन्छ। प्रसूति तथा महिला रोगबाहेक अधिकांश रुपमा महिलालाई पुरुषलाई जस्तै क्लिनिकल रुपमा उपचार गरिन्छ। यसले गर्दा यस्ता औषधिको प्रभाव लैगिंक भिन्नताका दृष्टिकोणले कति फरक हुन्छ भनेर थाहा पाउन कठिन हुन्छ। यसका लागि थप अध्ययन जरुरी छ। यसैले पुरुष केन्द्रित र एउटा विधि सबैलाई स्वीकार्य हुन्छ भन्ने सोचबाट स्वास्थ्य प्रणाली र अनुसन्धान माथि उठ्नुपर्छ। अहिले कोभिड–१९ को महामारीका बेला यो विषय झन् बढी सान्दर्भिक बनेको छ। विश्वमा महामारीका कारण महिाभन्दा पुरुषको बढी मृत्यु भइरहेको छ। यो अध्ययनको विषय हो, बन्नुपर्छ।

२० वर्षअघि इन्स्टिच्युट अफ नेसनल एकेडेमी अफ साइन्सले गरेको एक अध्ययनमा भनिएको थियो– पुरुष र महिला आफैंमा आधारभूत रुपमा फरक छन्। तर औषधि प्रयोगका हिसाबले २० वर्ष बित्दा पनि यसमा खास उल्लेख्य अध्ययन र अनुसन्धान हुन सकेको छैन। यसैले हामी परम्परागत सोचबाट बाहिर निस्कन पर्छ।यो समाचार आजको नागरिक दैनिकमा छ ।