कांग्रेसले ल्यायो कोरोना परीक्षण गर्ने ‘एप’

कांग्रेसले ल्यायो कोरोना परीक्षण गर्ने ‘एप’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा आज एक वेब एप जारी गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19/ मार्फत सो एप आज जारी गरेको पार्टी प्रवक्ता एवं विभाग प्रमुख विश्वप्रकाश शर्माले जानकारी दिए ।

वेब एपमा घरमै बसेर पनि कोरोना भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण जो कसैले गर्न सक्ने उनले बताए । साथै कसैमा कोरोना सङ्केत देखिए भौतिक परीक्षण र उपचारका लागि प्रेरित गर्ने तथा नदेखिए मानसिक तनावबाट मुक्तिलाई सघाउने उक्त वेब एपको विशेषता रहेको छ ।

नागरिकमा कोरोना जोखिमबारे सचेतना थप अभिवृद्धि गराउने, भौतिकरूपले परीक्षणको दायरा व्यापक हुन नसकेको अहिलेको परिस्थितिमा मनोवैज्ञानिक रूपले ठूलो जनसङ्ख्यालाई स्व–परीक्षणमा सघाउने र सतर्कताका लागि जागरुक गराउने तथा सङ्क्रमणको लक्षण देखिएका नागरिकको पहिचान गर्न बल पुर्‍याउँदै व्यक्ति, समुदाय र सरकारलाई सघाउने एपको उद्देश्य रहेको प्रवक्ता शर्माले बताए ।

उक्त एपको चिकित्सकीय परामर्शका लागि नेपाल मेडिकल एसोसिएशन पूर्वअध्यक्ष डा अञ्जनी झा, सरुवा रोग विशेषज्ञ डा वासुदेव पाण्डे, नेपाल मेडिकल एसोसिएशनका उपाध्यक्ष डा अनिलविक्रम कार्की र फोक्सो रोग विशेषज्ञ डा अशेष ढुङ्गानालाई तोकिएको छ ।

एपको निर्माण सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)का पूर्वकेन्द्रीय सदस्य ई शशाङ्कश्री न्यौपाने र सिडेनका पूर्वमहासचिव ई दीपेश विष्टको समूहले गरेको पार्टी कार्यालयले जनाएको छ । थप सुझाव ग्रहण गर्दै वेब एपको भर्सन परिमार्जित गरिँदै जाने प्रवक्ता शर्माले जानकारी दिए ।