एजेन्सी – अमेरिकाको ओहिओको डेमोक्रेटिक तर्फका एक जनप्रतिनिधिले राष्ट्रपति डोनल्ड ट्रम्पलाई मानवता विरोधी अपराधको मुद्दामा अन्तर्राष्ट्रिय अदालत पठाउने बताएकी छन् । चिकित्सा रुपमा प्रमाणित नभएको औषधिलाई ट्रम्पले कोरोना भाइरसको औषधिको रुपमा प्रचार गरेकाले यस्तो मुद्दा हाल्ने टाभिया गलोन्स्कीले बताएकी हुन् ।
ट्रम्पले आइतबार मलेरिया विरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वाइनको प्रयोगबारे बोलेपछि टाभियाले यस्तो चेतावनी दिएकी हुन् । मलेरिया विरुद्ध प्रयोग हुने उक्त औषधिलाई कोभिड–१९ विरुद्ध प्रयोग गर्ने बताएपछि बहसको विषय बनेको छ । ‘म यसलाई धेरै सहन सक्दिनँ, हेगमा गएको छु, म रेफरल बनाउँदै छु,’ गलोन्स्कीले भनिन् । ट्रम्पको पछिल्लो पत्रकार सम्मेलनलाई प्रमाणको रुपमा पेश गर्दै उनले मुद्दा दायर गर्ने जनाएकी छन् ।
हेगलाई अन्तर्रा्ष्ट्रिय फौजदारी अदालतको केन्द्र मानिन्छ । जहाँ १ सय २३ वटा सदस्यराष्ट्र छन् । त्यसमध्ये अमेरिका पनि एक हो । सदस्य राष्ट्रहरुले ‘रेफरल’ गर्न सक्छन् । गैर सदस्यराष्ट्रहरुले वैकल्पिक रुपमा संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले पनि अनुसन्धानका लागि ‘रेफर’ गर्नसक्छ ।
मानवता विरोधी अपराधलाई विशेष किसिमको अपराधका रुपमा लिइन्छ, जसलाई आईसिसीले हेर्ने गर्छ । अदालतले अपराधहरुको सूचीकृत गरेको हुन्छ । जहाँ हत्या, यातना, दासत्व, विनाशकारी घटना तथा अन्य अमानवीय घटनालाई अन्तर्रा्ष्ट्रिय अदालतले सूचीकृत गरेको हुन्छ ।
मलेरिया विरोधी औषधिको प्रचार प्रसार गरेको भन्दै ट्रम्पलाई प्रश्न उठाउने गलोन्स्की पहिलो नेता भने हैनन् । यसअघि अन्य नेताहरुले पनि ट्रम्पलाई प्रमाणित नभएको औषधिलाई प्रचार गरेको भन्दै कडा आलोचना गरेका थिए । मलेरिया विरुद्धको औषधिलाई कोभिड १९ का बिरामीलाई प्रयोग गर्न सकिने दावी गरिए पनि हालसम्म प्रमाणित भइसकेको छैन । विज्ञहरुले यसको प्रयोगले जटिलता उत्पन्न गर्नसक्ने औंल्याएका छन् ।
अमेरिकी सरुवा रोग तथा संक्रामक रोग राष्ट्रिय संस्थानका निर्देशक डा. एन्थोनी फौकीले उक्त औषधिले कोरोना विरुद्ध काम गर्ने प्रतिक्रिया दिँदैआएका छन् । कतिपय केसमा यसले काम गर्न नसके पनि सामान्यतः उक्त औषधिले काम गर्ने उनको भनाइ छ ।
यसर्थ ट्रम्पले मलेरिया विरुद्धको उक्त औषधिको प्रचार गरेको आरोप कमजोर हुनसक्ने पनि टिप्पणी हुन थालेको छ । यद्यपि गलोन्स्कीले राष्ट्रपति विरुद्ध मुद्दा दायर गर्ने प्रसस्त प्रमाण भएको दावी गरेकी छन् । उनले अन्तर्रा्ष्ट्रिय स्तरमा काम गरेका वकिललाई यस मुद्दामा आफूसँग काम गर्न सार्वजनिक रुपमै आह्वान समेत गरेकी छन् ।




प्रतिक्रिया