राहत र पीपीई वितरणमा व्यस्त महेश बस्नेत

राहत र पीपीई वितरणमा व्यस्त महेश बस्नेत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर – सरकारले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण रोक्न १४ दिनदेखि लगाएको लकडाउनमा देश ठप्प भएपनि भक्तपुरका युवा नेता एवं सङ्घीय सांसद महेश बस्नेत भने दिनहुँ राहत सामग्री वितरणमा व्यस्त छन् । लकडाउनको एकसाता यता सांसद बस्नेत नगरपालिकाका वडावडाका गरिब र मजदुरको टोलबस्ती, सडक पेटी एवं पार्टीमा जीवन गुजार्दै आएका मानवदेखि र सुकुम्बासी बस्तीसम्म आफैँ राहत सामग्री तथा अस्पतालमा पीपीई लिएर वितरणमा खटिइरहेका छन् ।

सांसद बस्नेतले आज भक्तपुर अस्पताललाई पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट) हस्तान्तरण गरेका छन् । बस्नेत आफैँ संरक्षक रहेको मानवीय आस्था नेपालको आयोजना एवं निक भुजिङ हाउजिङ प्रालिको सहयोगमा प्राप्त १४ थान पीपीई भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा सुमित्रा गौतमलाई हस्तान्तरण गरे । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा अति आवश्यक स्वास्थ्य सामग्री सांसद बस्नेतले भक्तपुर अस्पताललाई १४ थान, शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्रलाई चार थान, भक्तपुर क्यान्सर अस्पताललाई चार थान तथा क्वीक रेस्पोन्स टिमलाई चार थान हस्तान्तरण गरे ।

त्यसैगरी सांसद बस्नेतले मानवीय आस्था नेपालमार्फत मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा नदी किनारामा रहेको सुकुम्बासी बस्तीमा पुगेर ७५० घर परिवारलाई राहत वितरण गरेका छन् । चामल, दाल, नून, तेल, चिउरालगायत सामाग्री वितरण गर्दा सुकुम्बासी बस्तीभित्रका धेरै गरिबको मुहार खुशीले उज्यालो देखिन्थ्यो । त्यसैगरी लकडाउनका कारण रोजीरोटी गुमेका मध्यपुर नगरपालिका–९ टिकनीका स्थानीय तथा बहालमा बसेका ७६ घर परिवारलाई उनले राहत सामग्री वितरण गरेका छन् । सडक पेटी, मन्दिर र पाटीमा बस्ने ५० जनालाई दैनिक एकछाक खाना खुवाउने कार्यमा पनि सांसद दैनिक सक्रिय रहेका छन् ।

सांसद एवं पूर्वमन्त्री बस्नेतले आफूले सरकारी सेवाबाट प्राप्त गर्ने एक महिनाको तलब ‘कोरोनाभाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा जम्मा गरेका छन् । उनले एक महिना बराबरको तलब रु ६४ हजार १४० प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीमार्फत कोषमा जम्मा गरेका हुन् ।

नागरिक कम्युनिटी टिचिङ हस्पिटल गठाघर भक्तपुरका सञ्चालक सदस्य, वाग्मती प्रदेश खेलकुद परिषद् भक्तपुर जिल्ला अध्यक्ष श्रीभक्त काशिछ्वा र राजेश चिकँबजारले नागरिक कम्युनिटी टिचिङ हस्पिटलका स्वास्थ्यकर्मी र ऐम्बुलेन्स चालकका लागि नौ थान पीपीई प्रदान गरे । उनले नागरिक अस्पतालमा सम्भावित कोरोना भाइरसका बिरामीको उपचारमा सहयोग पु¥याउने उद्देश्यले उक्त सामग्री प्रदान गरेको जानकारी दिए । यस अस्पतालाई यसअघि पनि मध्यपुरथिमि नगरपालिकाले चार थान पीपीई प्रदान गरेको थियो ।

यता मानव कल्याण समाज (सेवाघर)मा रहेका ६५ जना वृद्धवृद्धाका लागि टौमढी युथ क्लबले रासन सामग्री सहयोग गरेको छ । लकडाउनका समयमा झौखेलस्थित सेवाघरमा रहेका ज्येष्ठ नागरिकको जीवनयापन कष्टकर नहोस् भन्ने उद्देश्यले क्लबले रासन उपलब्ध गराएको क्लबका पूर्वअध्यक्ष विजय धौभडेलले जानकारी दिए । क्लबले समाजका अध्यक्ष सुमित्रा चौलागाईंलाई २०० किलोग्राम चामल, ५० किलो दाल, १५ लिटर तेल, आठ किलो नून, ५६ किलो आलु, २५ किलो प्याज, १० किलो चिनी, चियापति, बिस्कुट, दुधलगायत रासन सामग्री हस्तान्तरण गरेको हो ।