कोरोना संक्रमण निको पार्ने ‘खोप’ बन्नै लाग्दा बजेट रोक्का, अहिले पछुतो !

कोरोना संक्रमण निको पार्ने ‘खोप’ बन्नै लाग्दा बजेट रोक्का, अहिले पछुतो !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – चीनको वुहानमा पहिलो पटक देखिएको कोरोना भाइरस संक्रमण संसारभर फैलिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेको छ । कोरोना महामारीको फैलावट सँगसँगै संसारभरका वैज्ञानिकले यसको औषधि पत्ता लगाउने प्रयास गरिरहेका छन् । तर औषधि पत्ता लगाउन चिकित्सा विज्ञानले सफलता पाइरहेको छैन ।मंगलबार बिहानसम्म संसारभर १९ लाख २४ हजार कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने १ लाख १९ हजार व्यक्तिको मृत्यु भइसकेको छ ।

महाशक्ति राष्ट्र अमेरिकामा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित फेला पर्दा समेत अमेरिकाले औषधि पत्ता लगाउन सकेको छैन । पहिलो पटक कोरोना भेटिएको चीनले भने ‘सामाजिक दूरी’ कायम गर्दै कोरोनालाई रोकथाम र नियन्त्रण गरेको छ ।कोरोना भाइरसको रोकथाम कसरी होला ? कोरोनाले मानव जातिलाई नै संकटमा पार्ला ? कोरोनाको औषधि पत्ता लगाउन कति समय लाग्दा ? संसारभर यी प्रश्नको खोजी भइरहेको छ । तर जवाफ कसैसँग छैन । कोरोना भाइरस कहिले नियन्त्रणमा आउँछ ? प्रश्न अनुत्तरित छ ।

कोरोना रोक्न ‘खोप अनिवार्य’
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमण रोकथामका लागि भ्याक्सिन खोप अनिवार्य हुने स्पष्ट पारेको छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमणलाई प्रभावकारी खोपले मात्र रोक्न सक्ने बताएका छन् । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूरै नरोकिने उनले बताए । ‘कोरोना भाइरस स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक देखिएको छ, यसलाई रोक्न प्रभावकारी खोप अनिवार्य देखिन्छ,’ उनले भने, ‘हामीलाई थाहा छ कोभिड–१९ तीव्र रुपमा फैलिरहेको छ । यो २००८ को स्वाइन फ्लुभन्दा १० गुणा खतरनाक छ ।’

कोरोना पुरानै भाइरस
कोरोना भाइरसको पछिल्लो संक्रमण कोभिड–१९ हो । यसअघि समेत कोरोना विभिन्न रुपमा देखिँदै आएको थियो । सन् २००२ मा चीनको ग्वान्झाउ प्रान्तमा अज्ञात भाइरस देखिएको थियो, जसलाई वैज्ञानिकले सार्स भनेका थिए ।सार्स रोग कोरोना भाइरसका कारण हुने र कोरोना जनावरबाट मानिसमा सर्ने वैज्ञानिकले पत्ता लगाएका थिए । सोर्स लागेका व्यक्तिमा श्वासप्रश्वासमा समस्या देखिने गरेको थियो । अहिले कोभिड–१९ मा समेत श्वासप्रश्वासमै समस्या देखिन्छ ।

पत्रकार मारिया एलिना नवासबाट बीबीसीमा प्रकाशित रिपोर्ट अनुसार कोरोना भाइरसबाट हुने सोर्स रोग केही महिनाभित्रै २९ देशमा फैलिसकेको थियो र ८ हजारभन्दा धेरै मानिस संक्रमित भए, सार्सका कारण ८ सयभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । त्यतिबेलै कोरोनाविरुद्ध खोप बनाउन वैज्ञानिकहरूले अनुसन्धान थालेका थिए । त्यो अनुसन्धान विचमै रोकियो । किन ?

कोरोनाको खोप बन्दाबन्दै बजेट रोक्का
बीबीसीको रिपोर्ट अनुसार त्यो भाइरसको रोकथामका लागि युरोप, अमेरिका र एसियाका वैज्ञानिक सक्रिय भए । कतिपय वैज्ञानिकले सार्स कोरोना भाइरसको खोप प्रारम्भिक रुपमा तयार भएको र चिकित्सा परीक्षणका लागि तयारी अवस्थामा रहेका बताएका थिए । तर खोप तयार हुँदासम्म सोर्स महामारी नियन्त्रणमा आइसकेको थियो । महामारी नियन्त्रणमा आइसकेको भन्दै बन्नैलागेको खोप बनाउने कार्य विचमै रोकियो ।

सन् २०१२ मा एउटा अर्को प्राणघातक कोरोना भाइरस मर्स कोभको महामारी मान्छेमा देखियो । त्यो कोरोना भाइरस ऊटबाट मानिसमा सरेको हो । फेरि वैज्ञानिकहरू सक्रिय हुँदै खोप बनाउनतिर लागे । त्यतिबेला पनि महामारी नियन्त्रण आइसकेकाले खोप बनाउने अनुसन्धानलाई पूरा गरिएन । खोप बनाउने अनुसन्धानलाई वैज्ञानिकहरूले रोकेका भने थिएनन्, कोरोना भाइरस विरुद्धको खोप बनाउने अनुसन्धान बजेट अभावका कारण रोकिएको थियो ।

बीबीसीसँग बेयलर कलेज अफ मेडिसिन अन्तर्गतको नेसनल स्कूल अफ ट्रपिकल मेडिसिनकी सहनिर्देशक डा. मारिया एलिना बोट्टाजीले भनेकी छन, ‘हामीले कोरोना विरुद्धको खोपको परीक्षण सकिसकेका थियौं र खोपको सुरूआती उत्पादन प्रक्रियाको महत्वपूर्ण समय पनि बिताइसकेका थियौं । त्यसपछि हामी एनआईएच (यूएस नेसनल इन्स्टिच्यूट अफ हेल्थ) समक्ष गयौं र खोपलाई अस्पतालसम्म छिट्टै पु¥याउन के गर्न सकिन्छ भनेर सोध्यौं । तर महामारी नियन्त्रण भइसकेको भन्दै एनआईएचले रुचि देखाएन ।’ वैज्ञानिकले अनुसन्धान गरिरहेको आधिकारिक निकायले नै रुचि नदेखाएपछि अनुसन्धानमा बजेटको अभाव भयो र अनुसन्धान अगाडि बढाउन नसकिने अवस्था आयो ।

पेन्सिल्भेनिया विश्वविद्यालयमा माइक्रोबायोलोजीका प्राध्यापक सुजेन भिज भन्छन्, ‘७–८ महिनापछि जब त्यो महामारीको अन्त्य भयो तब आम मानिस, सरकारहरू तथा औषधि कम्पनीहरूको कोरोना भाइरस माथिको अनुसन्धानको रुची तुरुन्तै सकियो । सार्सको असर बढी मात्रामा एसियामा देखियो । क्यानडामा यसका केही संक्रमण मात्र फेला परे भने युरोपसम्म यो भाइरस पुगेन । त्यसपछि देखिएको मर्स भाइरसको असर केवल मध्यपूर्वमा मात्र सीमित भयो । जसका कारण कोरोना भाइरसप्रति मानिसहरूको रुची पनि कम भयो । केही दिनअघिसम्म पनि अवस्था त्यहीँ नै थियो । तर मलाई लाग्दछ कि हामी अहिलेको अवस्थाको सामना गर्न पूर्णरुपमा तयार रहनुपथ्र्यो ।’

खोप बनाउने अनुसन्धानमा सक्रिय डा. बोट्टाजीले भनिन्, ‘अनुसन्धान जारी राख्ने बजेटका लागि हामीले सय डलर वा एक अर्ब डलरको कुरा गरिरहेका थिएनौं । हामीले केवल ३० देखि ४० लाख डलरसम्मको कुरा गरिरहेका छौं । १५ लाख डलरमा हामी मानिसमा यो भ्याक्सिनको असरको चिकित्सा अनुसन्धान पूरा गर्दछौं । तर उनीहरूले त्यस समयमा हाम्रो काम बन्द गरिदिए जब हामी ठीक नतिजाको नजिक पुग्न लागेका थियौं ।’

बायोटेक कम्पनी आरए क्यापिटलका निर्देशक तथा भाइरस विज्ञ पिटर कोलचिन्स्कीले भने, ‘महामारी रोकिएपछि खोपको कुनै बजार थिएन, त्यसैले त्यसका लागि पैसा दिन बन्द गरियो । अहिले हामीसँग कोरोना भाइरसका लागि सयौं खोपहरू उपलब्ध छन् तर सबै सुँगुर, कुखुरा तथा गाईजस्ता जनावरहरूका लागि हुन् ।’ यी खोप कुखुरा तथा घरपालुवा पशुहरूलाई कोरोना भाइरसबाट बचाउनका लागि लगाइन्छ । यस्ता खोपको बजार करोडौं डलरको छ । तर त्यतिबेला मानिसमा देखिने कोरोना भाइरस संक्रमणविरुद्धको खोपले बजार पाउने नदेखेपछि अनुसन्धान बीचमै रोकिएको थियो ।

अहिले पछुतो !
बीबीसीमा प्रकाशित रिपोर्ट अनुसार डा. बोट्टाजीको टोलीले तयार पारेको खोप कोभिड–१९ का लागि नभएर सोर्स रोगका लागि भएपनि अहिलेको कोरोना महामारीका लागि नयाँ खोप छिटोभन्दा छिटो तयार गर्न सहयोगी हुन्थ्यो । प्राध्यापक ज्यासन स्कर्टजले कोभिड–१९ को महामारी विरुद्धको तयारी सन् २००२ को सार्स महामारीको बेलादेखि नै सुरू हुनुपर्ने तर्क गरे । ‘यदि सार्स खोप कार्यक्रमलाई बीचमै नछोडिएको भए नयाँ कोरोना भाइरसमा अनुसन्धानका लागि हामीसँग प्रशस्तै आधारभूत अनुसन्धानहरू उपलब्ध हुन्थे,’ उनले भने ।

अमेरिका, युरोप लगायत क्षेत्रमा कोभिड–१९ ले महामारीको रुपमा लिएपछि अहिले वैज्ञानिकहरू पछुताइरहेका छन् – यदि उतिबेलै कोरोना भाइरस विरुद्धको खोप तयार पारिएको भए !बीबीसीका अनुसार नयाँ कोरोना भाइरस त्यहीँ परिवारको भाइरस हो, जसले सन् २००२ मा सार्स महामारीको जन्म दिएको थियो । डा. मारिया एलिना बोट्टाजीले यी दुई भाइरसबीच आनुवांशिक रुपमा ८० प्रतिशत समानता रहेको बताइन् ।

‘उतिबेला खोपको प्रारम्भिक परीक्षण समेत सफलतापूर्वक सम्पन्न गरी अनुमतिको प्रक्रिया समेत पूरा गरिसकेको हुँदा नयाँ कोरोना भाइरस विरुद्धको खोप छिट्टै तयार गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘हामीसँग योसम्बन्धी उदाहरणहरू हुन्थे । यी भाइरस फरक–फरक भएतापनि एउटै वर्गका हुन् । त्यसैले समस्याको जड कहाँ छ र कसरी हल गर्न सकिन्छ भन्ने कुराको अनुभव हामीसँग हुन्थ्यो । चिकित्सा परीक्षणको सुरूआतमा सार्स भ्याक्सिनले कस्तो प्रतिक्रिया जनाएको थियो भन्ने हामीलाई थाहा थियो । हामीलाई विश्वास छ कि नयाँ भ्याक्सिन पनि करीब उस्तै प्रकारले काम गर्दछ ।’
पुरानो पश्चातापबाट पाठ सिक्दै वैज्ञानिकले कोरोना विरुद्धको खोप बनाउने अनुसन्धानलाई जारी राखेका छन् । तर नयाँ खोप बनाउन कति समय लाग्छ ? कुनै निश्चित छैन ।