काठमाडौँ – सर्वसाधारण विद्यार्थी अध्ययन गर्ने भनेर परिचय बनाएका सामुदायिक विद्यालयहरू पनि अनलाइन प्रविधिबाट पठनपाठन अगाडि बढाउन सक्षम रहेको पाइएको छ ।
सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणका कारण विद्यार्थीलाई अनलाइनबाट अध्यापन गराउन विद्यालयमा यसको पहुँचबारे भर्खरै तथ्याङ्क लिन प्रारम्भ गरेको बेला सामुदायिक विद्यालयले भने अनलाइन प्रविधिबाट पढाउन नै सुरु गरेका छन् ।
ललितपुरको आदर्श सौल युवक माविले केही दिनेदेखि विद्यार्थीलाई अनलाइन प्रविधिको माध्यमबाट पठनपाठन गराउन थालेको छ । विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्यले एसईई दिने १६२ जना विद्यार्थीलाई चारवटा समूह बनाएर ग्रुप च्याट (समूह कुराकानी)बाट अध्यापन गराउने कार्य भइरहेको जानकारी दिनुभयो ।
विद्यार्थीलाई समूहमा नै प्रश्न पठाइदिएर गणित, अङ्ग्रेजी लगायतका विषयको अध्यापन गराएको जनाइएको छ । विद्यार्थीले समूहमै नजानेको कुरा सोध्ने र समूहमै छलफल गरेर अध्ययन गराउने गरिएको छ । कक्षा १० का प्रायः विद्यार्थी सम्पर्कमा रहेका र सिकाइलाई प्रविधिको माध्यमबाट निरन्तरता दिइएको जनाइएको छ ।
काठमाडौँको जनपथ माविले सामाजिक सञ्जालबाट एक सातादेखि विद्यार्थीलाई पढाउन थालेको छ । यस क्रममा अङ्ग्रेजी, गणित र अतिरिक्त गणित अध्यापन गराउने शिक्षकले पढाउने र गृहकार्यसमेत दिने गरेका छन् ।
हाल १५ जना विद्यार्थी यो माध्यममा जोडिएका छन् । काठमाडौँमा बसेका विद्यार्थी प्रविधिसँग जोडिए पनि बाहिरका विद्यार्थीसँग सम्पर्क हुन कठिनाइ भइरहेको बताइएको छ । डिल्लीबजारस्थित विजय स्मारक माविले प्रविधिबाट विद्यार्थीलाई पढाउन सुरु गर्दैछ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया