काठमाडौँ– सरकारी कार्यालय, बैंक, कृषि, उद्योग तथा कलकारखाना खुल्न थालेसँगै काठमाडौँ उपत्यकामा चहलपहल बढेको छ । उपत्यकाका मुख्य र भित्री सडकमा मानिसको भीड बढेको छ भने अत्यावश्यक बाहेकका सामग्री पसलसमेत खुलेका छन् ।
सरकारले विभिन्न कार्यालय र उद्योग खोल्ने निर्णयका कारण चहलपहल बढ्नु स्वाभाविक भए पनि कतिपयले उपत्यकामा ‘लक डाउन’ खुकुलो भएको भन्ने बुझाइका कारण काम नपरी पनि घर बाहिर निस्कन थालेको पाइन्छ । पहिले विहान, साँझ मात्रै खुल्ने खाद्यान्नको पसल जुनसुकै समय खोल्ने प्रशासनको निर्णयका कारण पनि उपत्यकाका विभिन्न भागमा दिनभरजसो मानिसको आवतजावत देखिएको छ । कतिपयले सवारी साधन बाक्लो हुँदा सडकमा जाँच हुँदैन भनेर पनि निस्केको पाइएको छ ।
कतिपय व्यक्ति अब त लक डाउन खुकुलो छ भन्दै घुम्न निस्केको पनि भेटियो । सीमित क्षेत्रमा मात्रै खुकुलो बनाइए पनि धेरैमा पहिले जस्तै पालना गर्नुपर्छ भन्ने थाहा नभएको वा थाहा भए पनि प्रहरी कम परिचालन हुन्छन् भन्ने सोचेर बाहिर निस्केको पाइएको छ । उपत्यकामा निर्माणका लागि आवश्यक हार्डवेयर पसल खुल्ने भनिए पनि कतिपय स्थानमा चिया पसल, क्याफे, कस्मेटिक्सलगायत पसलसमेत खुलेको देखिन्थ्यो ।
नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुप्रयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताएका छन् ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया