एसईई परीक्षाको विकल्प प्रस्तुत

एसईई परीक्षाको विकल्प प्रस्तुत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रवेशिका परीक्षा (एसईई) मा अनिवार्य विषयको राष्ट्रिय परीक्षा बोर्डले र ऐच्छिक विषयको सम्बन्धित विद्यालयले नै लिन पाउने व्यवस्थाका लागि प्रस्ताव गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण रोकिएको एसईई, कक्षा ११ र १२ को परीक्षालाई पुनः कसरी सञ्चालन गर्न सकिन्छ भन्नेबारेमा अध्ययन गर्न गठित कार्यटोलीले यस्तो प्रस्ताव बुझाएको हो ।

शिक्षा पत्रकार सञ्जालले आइतबार आयोजना गरेको अनलाइन अन्तक्र्रियामा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष तथा सो कार्यटोलीका संयोजक प्रा.डा. चन्द्रमणि पौडेलले परीक्षालाई सहजरूपमा सञ्चालन गर्न यस्तो प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमक्ष बुझाइएको जानकारी दिँदै भन्नुभयो, “विकल्प दिएका छौँ । त्यसमध्ये एउटा विकल्पका रूपमा अनिवार्य विषयको बोर्डले र ऐच्छिक विषयको विद्यालयले नै सञ्चालन गर्न पाउने व्यवस्थाको प्रस्ताव गरेका हौँ तर त्यसका लागि राष्ट्रिय पाठ्यक्रम मूल्याङ्कन परिषद्ले स्वीकृत गर्नुपर्ने हुन्छ ।” सो परिषद् शिक्षा मन्त्रीको अध्यक्षतामा रहने प्रावधान छ ।

उहाँले एसईई, कक्षा ११ र १२ को परीक्षा नहुने वा आन्तरिक मूल्याङ्कनका आधारमा प्रमाणपत्र जारी गरिने जस्ता भ्रम सुनिएको चर्चा गर्दै ती सबै गलत कुरा भएको प्रस्ट गर्नुभयो । उहाँले भन्नुभयो कानुनले परीक्षा लिनुपर्दछ भनेको छ । हामी कानुनभन्दा बाहिर जान सक्दैनौँ । त्यसैले सरकारले हामी अब सुरक्षित छौँ भनेर घोषणा गरेपछि परीक्षा सञ्चालन हुनेछ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।