एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनप्रति कडा निति अख्तियार गर्ने चेतवानी दिएका छन् । शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले चीनले हंगकङका लागी भन्दै ल्याएको सुरक्षा कानून एक त्रासदी भएको टिप्पणी गरेका छन् । उनले अमेरिकी कानूनअनुसार हंगकङलाई दिएको विशेष दर्जा फिर्ता लिने घोषणा समेत गरे । व्यापार र पर्यटनको सवालमा हंगकङसंग अवदेखी सामान्य नियमको पालना गर्ने बताए ।
चीनले भने हंगकङमा हस्तक्षेप नगर्न पश्चिमा मुलुकलाई चेतावनी दिएको छ । राष्ट्रपति ट्रम्पले चीनले एक देश दुई प्रणालीको सांटो एक देश एक प्रणाली लागु गरेको आरोप लगाए । उनले चीन हंगकङको स्वतन्त्रता खतम गर्न लागेको दावी गरे । उनले चीन र हंगकङका जो अधिकारीहरुले यो काम गरिरहेको भन्ने लाग्छ उनिहरुको हकमा अमेरिकी विदेश मन्त्रालयले ट्राभल अडवाइजरी जारी गर्ने चेतावनी समेत उनले दिए ।
उनले अमेरिकाको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) संगको सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्। शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओ, चीनको कठपुतली बनेको आरोप लगाउंदै यसैकारण सम्बन्ध आजैदेखि अन्त्य गरिएको घोषणा गरेका हुन्।
ट्रम्पले शुक्रबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने ‘हामीले डब्ल्यूएचओको व्यापक सुधारका लागि अनुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं, त्यसैले आजबाट नै हामी उसंगको सम्बन्ध तोड्दैछौ ।’
उनले यो निर्णय कहिलेवाट लागु हुने भन्नेबारे भने केही खुलाएका छैनन् । अमेरिका विश्व स्वास्थ्य संगठनको १९४८ मा जोडिएको थियो । हाल १९४ देशहरु उक्त संगठनसंग आवद्ध छन् । डब्लुएचओसंग जुनसुकै मुलुकलाई पनि एक वर्षको समयसीमा दिएर अलग हुने अधिकार छ ।
डब्लुएचओले भने अमेरिकी राष्ट्रपतिको घोषणाबारे टिप्पणी गर्न अस्विकार गरेको छ । उसले डब्लुएचओ चीनको प्रभावमा परेको आरोपको खण्डन गर्दै आएका छन् । ट्रम्पले डब्लूएचओका लागि अमेरिकाले खडा गरेको कोषको रकम अब विश्वका अन्य जनस्वास्थ्य क्षेत्रमा लगानी गर्ने घोषणा समेत गरेका छन् ।
ट्रम्पले चीनले डब्ल्यूएचओलाई अमेरिकाभन्दा कम रकम दिने भएपनि उक्त संगठन पूर्ण रूपमा चीनको नियन्त्रणमा रहेको आरोप लगाए ।
अमेरिकाले डब्लुएचओलाई ४ सय ५० मिलियन डलर सहयोग प्रदान गर्दै आएको थियो । चीनले भने ४० मिलियन अमेरिकी डलर सहयोग प्रदान गर्दै आएको थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले उसलाई दिंदै आएको बन्द गर्ने घोषणा गरेसंगै चिनियां राष्ट्रपति सी जिनफिंगले डब्लुएचओलाई दुई बिलियन अमेरिकी डलर उपलब्ध गराउने घोषणा गरेका थिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसंग मिलेर डब्लूएचओले कोरोना भाइरसको संक्रमण सुरु हुनेबित्तिकै सूचना नदिएको आरोप दोहोर्याएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सुरुदेखी नै चीनले सुरुमै जानकारी नदिएकाले कोरोना विश्वभर फैलिएको आरोप लगाइरहेका छन् भने डब्लूएचओले चीनलाई नै साथ दिएको बताइरहेका छन् ।
उनले डब्लूएचओलाई एक महिनाको अल्टिमेटम समेत दिएका थिए । कोरोना भाइरसको संक्रमणबाट अमेरिका आक्रान्त छ । भाइरसको संक्रमणबाट मर्नेहरुको संख्या एक लाख भन्दा बढी पुगिसकेको छ ।




प्रतिक्रिया