काठमाडौँ –त्रिभुवन विश्वविद्यालयले मातहतका केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई मुलुकको भूगोल, सीमा समस्या, नक्सालगायतका जल्दाबल्दा राष्ट्रिय मुद्दाका विषयमा अनुसन्धान गर्न क्रियाशील गराएको छ ।
मुलुकको ऐतिहासिक दस्तावेज, प्रमाण सङ्कलनका साथै विदेशीसँगको औपचारिक वार्ता तथा छलफलमा आवश्यक तथ्य प्रमाण जुटाउनेलगायत कार्यका लागि केन्द्रीय विभाग तथा अनुसन्धान केन्द्रलाई सक्रिय बनाइएको हो ।
आर्थिक अभावका कारण अनुसन्धानमा सक्रिय हुन नपाएका अनुसन्धान केन्द्र तथा विद्यार्थीको अभावका कारण अध्ययन अध्यापन हुन नसकेका विभाग र त्यहाँका प्राध्यापकलाई यस दिशामा क्रियाशील गराइएको विश्वविद्यालयले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले सिमानामा देखिने समस्या तथा नेपालले नयाँ नक्सा सार्वजनिक गरेको अवस्थामा भूगोल तथा इतिहास केन्द्रीय विभागलाई यस विषयमा अनुसन्धान गरी ऐतिहासिक प्रमाण खोजी गर्न लगाइएको जानकारी दिनुभयो । नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) लाई पनि मुलुकको जल्दाबल्दा विषयमा अनुसन्धान गर्न लगाइएको छ ।
भूगोल केन्द्रीय विभागलाई नेपाल–भारतबीचको सीमा लगायतका विषयमा अध्ययन गर्न भनिएको र विभागले त्यसको सुरुवात गरेको उहाँले जानकारी दिनुभयो । सिनासले नेपाल र विभिन्न पक्ष बीचमा भएका सन्धि सम्झौतालगायतका विषयमा अध्ययन गर्न आह्वान गरेको छ ।सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्रबहादुर कार्कीले सीमासँग समर्पित हुने गरी जर्नल प्रकाशनको तयारी गरिरहेको जानकारी दिनुभयो । यसमा भारत र चीनका प्राज्ञिक व्यक्तिलाई पनि लेखनका लागि आमन्त्रण गरिएको छ ।
यसमा सिमाना र सिमानाले निर्माण गरेका प्राज्ञिक विषय, सीमामा कसरी मुद्दा उठे तथा त्यसलाई नेपाल र भारतमा कसरी लिइयो भन्ने लगायतका विषय समेटिने छ । साथै यसमा कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका विषयमा राष्ट्रियता, सार्वभौमिकता लगायतको हिसाबले विश्लेषण गरिने उहाँले जानकारी दिनुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया