एमसीसीबारे पूर्व प्रधानसेनापतिको टिप्पणीः अमेरिकी सेना हामीलाई खाँचो छैन

एमसीसीबारे पूर्व प्रधानसेनापतिको टिप्पणीः अमेरिकी सेना हामीलाई खाँचो छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापाले अमेरिकी सहयोग सम्बन्धी परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन(एमसीसी) को विरुद्धमा टिप्पणी गरेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेताहरु नै एमसीसीको पक्ष र विपक्षमा रहेका बेला पूर्वप्रधानसेनापति थापाले एमसीसी नेपालको हितमा नरहेको बताएका छन् ।

पूर्वप्रधानसेनापति थापाले सामाजिक सञ्जाल फेसबुकमा एमसीसी अमेरिकी सेना नेपाल प्रवेश गर्ने एउटा पाइला भएको टिप्पणी गरेका छन् । उनले एमसीसी नेपालको हितमा नभएकाले आफ्नो परियोजना फिर्ता लैजान अमेरिकालाई आग्रह गरेका छन् ।

‘एमसीसी अमेरिकी सेना नेपाल प्रवेश गर्ने एउटा पाइला हो । हामीलाई उनीहरुको खाँचो छैन । हामी तिनीहरुलाई चाहँदैनौं’, उनले भनेका छन्, ‘एमसीसी नेपालका लागि अस्वीकार्य छ। तिम्रो च्यारिटी(एमसीसी ) हामी(नेपाल)लाई स्वीकार्य छैन् ।’

त्यस्तै उमेरले ८० नाघिसकेका पूर्वप्रधानसेनापति थापाले एमसीसी पास गर्न तम्सिएका नेताहरुलाई सचेत गराएका छन् । उनले अमेरिकाको पक्षमा नेपालको भू–भाग प्रस्ताव गर्न वाध्य बनेको भन्दै नेताहरुको चर्को आलोचना गरेका छन् ।

‘हाम्रा विद्वान बुद्धिजीवीहरु र र बुद्धिमान राजनीतिक मास्टरहरुले अमेरिकाद्वारा प्रयोगको लागि हाम्रो क्षेत्र प्रस्ताव गर्न बाध्य महसुस गर्छन्,’ उनले भनेका छन् ।सत्तारुढ दल नेकपाभित्र एमसीसीबारे नेताहरु नै विभाजित भएका छन् । नेकपाले एमसीसीबारे छलफल गर्न सचिवालयको बैठक बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली जसरी पनि एमसीसी पारित गराउने पक्षमा छन् भने अध्यक्ष पुष्पकमल दाहाल, झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, भीम रावल लगायतका नेताहरु एमसीसीका केही बुँदा संशोधन गर्नुपर्ने अडानमा छन् ।