कठमाडौं – प्रतिनिधिसभा बैठकबाट संविधानको दोस्रो संशोधन विधेयक सर्वसम्मतिले पारित गरेको छ। संशोधन प्रस्तावमाथिको दफावार छलफलपछि निर्णयका लागि संसदमा मतदान भएको थियो ।
जसअनुसार संविधान संशोधनका लागि भएको मतदानमा २५८ मत खसेकोमा पक्षमा सबै २५८ र विपक्षमा कुनै पनि मत परेन । २७५ सदस्सीय संसदमा २५८ मत खसेसँगै संशोधन विधेयक दुई तिहाई भन्दा बढी मतले पारित भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
सरकारले वास्तविक भूमि अनुसारको नेपालको नक्सा निशान छापमा समेट्न संविधान संशोधन विधेयक ल्याएको थियो। संविधानको धारा ९ को उपधारा २ अनुसारको अनुसूची(३ मा नेपालको निशान छाप रहेको छ।
उक्त निशान छापमा भएको नक्सामा नेपालको कालापानी, लिम्पियाधुरा, लिपुलेक लगायतका क्षेत्र समावेश थिएन। सरकारले उक्त क्षेत्रहरु समेटेर गत जेठ ७ गते नयाँ नक्सा जारी गरेको थियो।
लगत्तै सरकारले जेठ १८ गते प्रतिनिधि सभामा नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पेश गरेको थियो। सरकारले ल्याएको संशोधनको पक्षमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राजपा नेपाल, समाजवादी पार्टी, राप्रपा, जनमोर्चा र नेमकिपाले मतदान गरेका हुन्। अब राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिबाट लागू भएसँगै नेपालको निशान छाप परिवर्तन हुनेछ।
निशान छाप





प्रतिक्रिया