काठमाडौं – रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा न. ८ सोती भन्ने स्थानमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा वडाध्यक्ष डम्बर बहादुर मल्लले प्रहरीलाई नै गुमराहमा राखेको पाइएको छ ।
गृहमन्त्रालयद्वारा गठन गरिएको छानबिन समितिले तयार पारेको प्रतिवेदनले वडाध्यक्ष मल्ले चार गाउँका मानिस भेला पारेर प्रहरीलाई गलत सूचना दिएको निष्कर्ष निकालेको छ ।
‘डम्बर बहादुर मल्ल सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित जिल्ला रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष (जनप्रतिनिधी) समेत भएको जिम्मेवार व्यक्तिले लकडाउनको समयमा जाजरकोटबाट केटाहरु गाउँमा छिरे तिनीहरुलाई नियन्त्रणमा लिनुपर्छ भन्ने बहानामा प्रतिवादी डम्बर बहादुर मल्लको मोवाईल नं. ९८४८९६९७३३ ले प्रतिवादी टोप बहादुर मल्लको मोबाईल नं. ९८४२३५३०२५, प्रतिवादी मान बहादुर मल्लको मोबाईल नं. ९८६६८६८९६८, प्रतिवादी नेत्र बहादुर मल्लको मोवाईल नं. ९८४१५३७६७३ मा सम्पर्क गरी गाउँलेहरुलाई एकीकृत गराई नियन्त्रणमा लिन भनी उत्प्रेरित गरेको, गोईरी औलका व्यक्तिहरुलाई समेत गलत सूचना प्रवाह गरी बाटो छेक्न लगाएको, साथै गाउँ छिरेका व्यक्तिहरुलाई नियन्त्रणमा लिने नाममा प्रहरीलाई गलत सूचना दिई गुमराहमा पारी अर्को तर्फ पठाई गाउँका मानिसहरुलाई भेला जम्मा गरी झण्डै ४ कि.मी. टाढा गईसकेका पीडितहरुलाई पिछा गर्दै लखेट्दै ढुङगा, मुढा प्रहार गरी नवराज बि.क. समेतका ६ जना व्यक्तिहरुको ज्यानै लिनेसम्मको परिस्थिती सिर्जना गरी आफू समेत उक्त कार्यमा संलग्न भएको देखिदा निज प्रतिवादी डम्बर बहादुर मल्ललाई जातिय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को दफा ७ को उपदफा २(१) बमोजिम थप सजाय हुनेछ’, प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै ३४ जनालाई पक्राउ गरेर आवश्यक कानुनी प्रक्रियामा लगिएको प्रतिवेदनमा भनिएको छ । त्यस्तै हाललाई बालबालिका ऐन, २०७५ को दफा ३६ को उपदफा (४) बमोजिम सजाय हुनका साथै हाल फरार रहेका प्रतिबादीहरु तुलाराम घर्ती, क्वापे भन्ने लोकेन्द्र घर्ती, भिम बहादुर बुढा, डिल्ली घर्ती र शौरभ पुनको हकमा अदालतबाट पक्राउ पुर्जी सहितको म्याद जारी भएको उल्लेख छ ।
‘सोही परिच्छेदको दफा १८६ बमोजिम मृतकको परिवार तथा घाईतेहरुलाई मनासिव क्षतिपूर्ति भराई दिनहुन समेतको सम्मानित अदालतमा मागदाबी भई पीडकलाई सजाय र पीडितलाई न्याय दिने कानूनी प्रक्रिया प्रारम्भ भइसकेको छ ’, प्रतिवेदनमा भनिएको छ ।
त्यस्तै नवराजकी प्रेमिकाले बाबु र दाईको योजनामा कुटेर मारेको बताएकी छन् । उनले प्रहरीलाई दिएको बयानअनुसार नवराज र उनका साथीको मृत्यु भएको कुरा आफूले भोलीपल्ट अर्थात ११ गतेमात्र थाहा पाएको बताएकी छन् ।
‘सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरू भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ, भोलिपल्ट साथीहरूसँग फेसबुकमा कुराकानी हुँदा नवराजको मृत्यु भएको सुनें,’ उनले भनेकी छन्, ‘पछि बुझ्दा मेरा बुवा, दाइसमेतले नवराजसमेतलाई लखेट्दै घेरा हाल्दै घटनास्थल पुर्याई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ ।’
उनले घटनाको दिन नवराजले केटाहरू ल्याएर आउँदै छन् भन्ने जानकारी नभएको बताएकी छन् ।
‘मलाई थाहा थिएन, मेरो बहिनी नाता पर्नेसँग नवराजले लकडाउन खुलेपछि मलाई लिन केटाहरू लिएर आउँछु भनेको रहेछ,’ उनले भनेकी छन्, ‘यो कुरा बहिनीले मेरी आमालाई भनेकी रहेछ । आमाले मलाई जेठ २ गतेतिर भनेपछि मात्र थाहा पाएकी थिएँ ।’
जेठ १० गते टिभी हेरिरहेका बेला घरनजिक नवराजसहित अरू केटाहरू आएको आमामार्फत् नै थाहा पाएको उनको बयानमा उल्लेख छ।
‘आमाले गाली गरेर पठाउनु भएको रहेछ, सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरू जम्मा भएका थिए,’ उनले भनेकी छन्, ‘तर मैले केटाहरूलाई देखिनँ, म घटनास्थलमा गएकी छैन, सो दिन दिउँसो के कसो भयो मलाई थाहा छैन ।’






प्रतिक्रिया