भक्तपुर – चाँगुनारायण नगरपालिका – ९ ताथली सौडोलका किसान सानुभाइ गिरीले पाँच रोपनी क्षेत्रफलमा लगाएको बन्दा बिक्री नभएपछि बन्दासहित ट्रयाक्टर लगाएर खेत जोतेका छन् ।
यसवर्ष एकलाख रुपैया आम्दानी गर्ने उदेश्यले लगाएको बन्दा लकडाउनका कारण बिक्री नभएपछि उनले बन्दासहित खेत जोतेर धान रोप्ने तयारीमा लागेका हुन् ।
३० मा बिक्री भएको बन्दा लकडाउनले बजारमा लैजान नसकेको र आएका व्यापारीले प्रतिकिलो एक रुपैया दिएपछि गाईलाई खुवाएर, आफन्तलाई बाडेर बाँकी बन्दासहित खेत जोत्नुपर्ने अवस्थामा उनी पुगेका हुन् । गिरीले भने, ‘अधिकांशले एक रुपैयामा बिक्री गर्नुभन्दा मल हुन्छ भनेर बन्दासहित खेत जोतिएको हो ।’
बन्दा खेती नगर्ने छिमेकी, आफन्त र लिन आउनेलाई निःशुल्क वितरण गरी गाईलाई खुवाउँदा पनि नसकिएको बन्दा खेत मै कुहाएर मल बनाउने गरी जोतिएको हो । यहाँका करिब ५० घरपरिवारले लगाएको बन्दा खेर गएको छ । कतिपय व्यापारीले एक बोरा बन्दाको १०० मूल्य तिरेर लगेपनि धेरै बन्दा कुहिएर गएको ताथली सौडोलका श्रीराम न्हेमाफुकीले बताए । एक रोपनीमा बन्दा लगाउँदा २५ हजार खर्च हुने तर आम्दानी भने यसवर्ष शून्य हुँदा बन्दा खेती गर्ने किसान निकै मर्कामा परेका छन् ।
चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले लकडाउनले बन्दा, फर्सी र काउली खेती गर्ने किसानलाई निकै मर्का परेको बताउदै धेरै किसानको लगानी नउठेको र कतिपयले तरकारी खेतमै कुहाएको जानकारी आफूले पाएको बताए । सरकारले किसानलाई अनुदान दिने भनेपनि वास्तविक साना किसानसम्म अनुदान नआउने उनीहरुको दुखेसो छ ।
पाँच रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका सुमन कार्कीले भने, ‘अनुदान लिन सोर्सफोर्स नेताको सिफारिस चाहिने रैछ, हामी सोझा किसानलाई लप्पन छप्पन आउदैन, त्यसैले अनुदान पाउदैनौ ।’
कतिपयले अनुदान लिन कै लागि तरकारी खेती गर्ने र लाखौ अनुदान लिएपछि अर्को वर्षदेखि खेती नै नगर्ने गरेको अर्का किसान रामेश्वर श्रेष्ठले बताए । भक्तपुरमा यसवर्ष बन्दा बिक्री भएन । भारतबाट आएकोले ३० मूल्य पाएको तर भक्तपुर मै उत्पादित बन्दाले एक रुपैया मूल्य पाएको किसानको गुनासो छ । चाँगुनारायणको ताथली, सुडाल, वागेश्वरी, छालिङ्ग, झौखेल, सूर्यविनायक नगरपालिकाको सिपाडोल, चित्तपोल लगायतको क्षेत्रमा बन्दा खेती गरिएको छ ।




प्रतिक्रिया