यी रुटमा आजदेखि साझा यातायातको सेवा सुरु

यी रुटमा आजदेखि साझा यातायातको सेवा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – साझा यातायात प्रालीले आज (बिहिबार)देखि पुनः आफ्नो सेवा सञ्चालन गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि गत चैत १२ देखि सरकारले लकडाउन लगाएदेखि बन्द साझा यातायातले सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाएर सेवा सुरु गरेको हो ।

साझाका २६ वटा बसले काठमाडौं उपत्यकाका साविककै ८ वटा रुटमा सेवा दिन सुरु गरेको साझा यातायातका व्यवस्थापक महेन्द्रराज पाण्डेले जानकारी दिए । उनले यात्रुको चाप हेरेर आवश्यकताअनुसार बसहरु थप्दै जाने बताए ।

लगनखेलबाट गोदावरी, थानकोट, लामाटार, बालाजु, सूर्यविनायकसहित सबै रुटमा साझा यातायातका बस चलिरहेका छन् । साझाले सरकारले तोकेअनुसार साविककोभन्दा ५० प्रतिशत बढी भाडा लिएर सेवा सुरु गरेको छ ।

यात्रुहरुलाई अनिवार्य मास्क लगाउन, बसभित्र भीड नगर्न, व्यक्तिगत रुपमा दूरी कायम गरेर बस्न र खुद्रा भाडाको व्यवस्था गरेर बस चढ्न साझाले आग्रह गरेको छ ।

उपत्यकामा सोमबारबाट मयूर, संयक्त, महानगर, सुन्दर यातायात लगायतका बस कम्पनीहरुले राजधानीमा सार्वजनिक बस चलाउन थालेका छन् । यातायात व्यवसायी कम्पनीका छाता संगठनहरुले बस नचलाउने निर्णय गरे पनि केही कम्पनीहरुले भने निर्णय अवज्ञा गर्न थालेका छन् ।