काठमाण्डु – नेपाल वायुसेवा निगमले आफ्ना १४ जना कोरोना संक्रमित कर्मचारीलाई अस्पतालबाट होटेलको आइसोलेसनमा सारेको छ ।
ह्याम्स अस्पतालमा भर्ना भएका १४ जना संक्रमितको उपचार खर्च बढी आएको भन्दै निगमले कर्मचारीलाई सोल्टी होटलको आइसोलनमा सारेको निगम स्रोतले जानकारी दियो । अस्पतालमा एक जनाको एकैदिनको खर्च ३१ हजार रुपैयाँ बिल आएपछि उनीहरुलाई होटेलमा सारिएको हो ।
निगमले आफ्ना पाइलटसहित सबै कर्मचारीलाई सोल्टी होटलमा राख्दै आएको छ । त्यहीँ क्रममा चार जना पाइलटसहित १४ जना उडान कर्मचारीलाई संक्रमण पुष्टि भएको थियो । निगमले आइसोलेसनमा भर्ना भएका उनीहरुको लागि छुट्टै मेडिकल टिम खटाइएको जनाएको छ ।
निगमकी प्रवक्ता अर्चना खड्काले पनि निजी अस्पतालमा महंगो भएपछि संक्रमितहरूलाई सोल्टी होटलको आइसोलेसनमा सारिएको बताइन् ।
उनले भर्ना गरिएको पाँच दिनपछि संक्रमितहरूलाई होटलमा लगिएको बताएकी छिन् । उनले निजी अस्पतालको खर्च निगमले धान्न नसकेकाले होटेलमा सारिएको बताइन् ।




प्रतिक्रिया