युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु हुँदै

युरोपेली च्याम्पियन्स लिग फुटबल यसैसाता शुरु हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पेरिस – कोरोनाभाइरसका कारण करिब पाँच महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसैसातादेखि पुनः शुरु हुँदैछन् । युरोपेली मुलुकहरुमा कोरोनाभाइरसको महामारी तिब्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा एकाएक स्थगित गरिएका थिए ।

युरोपेली फुटबलको सर्वोच्च निकाय (युइएफए)ले युरो–२०२० लाई एक वर्ष पछि सार्ने निर्णय गरे पनि क्लबस्तरीय दुई प्रतिष्ठित प्रतियोगिताहरु च्याम्पियन्स लिग र युरोपा लिगका बाँकी खेल संचालन गर्ने वा नगर्ने अन्यौल थियो ।

अन्तमा युरोपेली फुटबल महासंघले एउटा जुक्ती निकालेको छ । दुबै प्रतिस्पर्धालाई अब निर्धारित एक रंगशालामा सबै खेल खेलाइनेछ । यी खेलहरुमा दर्शकलाई प्रवेश गराइने छैन ।

च्याम्पियन्स लिग आगामी अगस्ट १२ मा शुरू हुनेछ र अन्तिम आठका सबै खेल पोर्चुगलको लिस्बनमा खेलाइनेछ । फाइनल खेल भने अगस्ट २३ मा बेनिफिकाको खेल मैदान एस्टाडियो डा लुजमा हुनेछ ।

यस्तै, युरोपा लिगका सबै खेल जर्मनीका विभिन्न रंगशालामा यही अगस्ट १० देखि खेलाइनेछ र फाइनल खेल अगस्ट २१ मा कोलोनमा हुनेछ ।युइएफएका अध्यक्ष अलेक्सान्डर सेफेरिनले अर्को सूचना नभएसम्म दर्शकहरू बिना नै दुबै प्रतिस्पर्धा आयोजना गरिने बताउँदै आफूहरु कुनै जोखिम लिने स्थितिमा नरहेको जानकारी दिए ।– एएफपी