काठमाण्डु – अमेरिकी राष्ट्रपतिको चुनावका लागि दौडधूप सुरू भएका बेला हिन्दू मतदातालाई फकाउने होड चलेको छ । अमेरिकामा भारत र नेपाल लगायत विभिन्न देशका हिन्दू मतदाता उम्मेदवारहरूको नजरमा परेका छन् ।
राष्ट्रपति पदको दौडमा रहेका डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडनले अमेरिकी भारतीयहरूको लागि ‘भिजन डकुमेन्ट’ प्रस्तुत गरे । जसमा भनिएको छ, ‘कोरोना महामारीसँग लड्न, अर्थव्यवस्थालाई मजबुत बनाउन र प्रवासीसँग सम्बन्धित सुधारका लागि भारतीय अमेरिकीले जो बाइडन र कमला हैरिस प्रशासनमाथि भरोसा गर्न सक्छन् ।’
आगामी चुनावमा भारतीय मूलकी कमला हैरिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको छ । यसअघि जो बाइडनले अमेरिकी मुसलमानको लागि ‘भिजन डकुमेन्ट’ जारी गरेका थिए । जसमा कश्मीर मुद्दादेखि राष्ट्रिय नागरिकता दर्ताबारे भनिएको थियो । जसबाट अमेरिकी भारतीय असन्तुष्ट बनेका थिए ।
भारतीय स्वतन्त्रता दिवसको अवसरमा जो बाइडन र कमला हैरिसले अमेरिकी भारतीयको नाममा एक भिडियो सन्देश जारी गर्दै अमेरिकी र भारतीय मूलका अमेरिकीहरू मिलेर देशलाई विकासको पथमा लैजान सकिने जनाएका छन् ।
अमेरिकी भारतीय मतदाता तथा कट्टर हिन्दु मतदाताको झुकाव बहालवाला राष्ट्रपति डोनाल्ड ट्रम्पतर्फ हुनसक्ने अनुमान गरिन्छ । किनकि ट्रम्पलाई भारतको समर्थकका रूपमा हेर्ने गरिन्छ । कश्मीर र विवादित नागरिक संशोधन कानूनका मामिलामा ट्रम्प प्रशासन चुप नै बस्यो । जबकि प्रमिला जयपाल र बर्नी सेडर्स लगायत डेमोक्रेट नेताहरू यी विषयमा बोल्दै आएका छन् । २०१९ सेप्टेम्बरमा अमेरिकाको ह्युस्टनमा ट्रम्प सहभागी हुनु र यसै वर्ष फ्रेबअरीमा ट्रम्प भारत भ्रमणमा आउनुले भारतीय मतदाताको झुकाव ट्रम्पतिर हुनसक्छ । डेमोक्रेट नेताहरूका बयानको फाइदा ट्रम्पलाई हुनसक्ने डेमोक्र्याटस्का बीच अमेरिकी भारतीयको एक पक्षको मान्यता रहेको छ ।
बाइडनको चुनावी अभियानका अनुसार अमेरिकामा करीब १३.१ लाख यस्ता अमेरिकी भारतीय मतदाता छन्, जसको रुझान ८ निर्वाचन क्षेत्रमा निर्णायक साबित हुनसक्छ । बाइडनको चुनावी अभियानमा कश्मीर र एनआसीपछि अब अमेरिकी भारतीयहरूलाई बढी महत्त्व दिन थालिएको छ । अगस्त १४ र १५ तारिखमा बाइडनले अमेरिकी भारतीय र पाकिस्तानीहरूका लागि भर्चुअल कार्यक्रम समेत गरेका थिए ।
यता चुनावी तयारीमा जुटेको ट्रम्प समूह पनि भारतीय अमेरिकी मतदाताको एक ठूलो हिस्साबाट समर्थन पाइने आशा दिएर बसेको छ । एक अनुमान अनुसार भारतीय अमेरिकी मतदातामध्ये करीब आधा मत बाइडनभन्दा ट्रम्पको पक्षमा जान सक्छन् ।
एक विश्लेषकका अनुसार भारतमा मुसलमानमाथि के भइरहेको छ, यो पूरा दुनियाँले देखेको छ, यसबाट अन्तर्राष्ट्रियस्तरमा हाम्रो छविमा क्षति पुगेको छ ।
(बीबीसी हिन्दीमा प्रकाशित विनीत खरेको रिपोर्टबाट भावानुवाद)




प्रतिक्रिया