काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकारको कमजोरीले रासायनिक मल नपाएर कृषकको बालीनाली तहसनहस भएको बताएकी छन् ।
उनले सरकारले जनतालाई समयमा मल नदिनुका पछाडि चलखेल गर्नका लागि टेण्डरमा ढिलासुस्ती गरेको आरोप लगाएकी छन् ।
‘समयमा सरकारले जनतालाई मल उपलब्ध नगराउनुको पछाडी चलखेल गर्नकै लागि नै टेन्डरमा ढिलासुस्ती गर्नु एकातर्फ भने अर्कोतर्फ पहुँचको आधारमा क्षमताहिन कम्पनीहरुलाई आपुर्तिको ठेक्का नै हो’, उनले भनिन्, ‘सरकार अब जनताको सरकार रहेन । जनताको हितको लागि सामान्य भन्दा सामान्य कार्य पनि सरकारले गर्न सकेन ।’
सरकारले मल अनुदानका लागि ११ अरब रुपैयाँ बजेट छुट्टाएको उनको भनाई छ । उनले किसानलाई कम्तिमा पनि ५ लाख मेट्र्क टन मलको आबस्यकता रहेको बताइन ।
‘२५/२५ हजार मेट्रिक टन मल आयात गर्ने जिम्मा पाएका सैलुङ र हानिको मल्टिपलले मल आयात नै गरेनन् । दुबै कम्पनीका मालिकहरु सत्ताका नजिकका रहेका छन्’, उनले भनिन् ।
सांसद संग्रौलाले कृषि मन्त्री घनश्याम भुषालको गैरजिम्मेवारपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएकी छन् । कृषि मन्त्रीले कम कबोल्नेलाई ठेक्का दिँदा समस्या भएको बताएका थिए । उनले तत्काल कृषकका लागि मलको व्यवस्था गर्न पनि सरकारसँग माग गरेकी छन् ।
‘त्यसो भए सबभन्दा बढी कबोल गर्नेलाई ठेक्का दिएर मालामाल हुने अबसर आएको छ मन्त्री जी !’, उनले भनिन्, ‘यो र त्यो बहानाले किसानलाई मारमा पार्न सरकार उद्दत छ । किसानको कुरो मात्र हैन सरकार । यो त राष्ट्रिय उत्पादनसंग जोडिएको कुरा हो । मलको अबिलम्ब ब्यबस्था गर सरकार ! हैन भने कुर्सीमा टासिंरहनुको कुनै अर्थ छैन ।’




प्रतिक्रिया