काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटीको शुक्रबार सम्पन्न बैठकले आगामी चैतमा एकताको राष्ट्रिय महाधिवेशन गर्ने निर्णयलाई निरन्तरता दिएको छ । यसअघि दोस्रो केन्द्रीय कमिटी बैठकले समेत चैत २५–३० गतेसम्म काठमाडौंमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
हालै स्थायी कमिटी बैठकबाट पारित प्रस्तावमा ‘पार्टी एकताको भावना एवं मर्म अनुरूप सहमतिका साथ महाधिवेशन सम्पन्न गर्ने’ उल्लेख छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाले सहमतिलाई प्राथमिकतामा राख्दै आएको छ ।
नेकपाको आगामी नेतृत्व चयन सहमतिबाट सम्भव छ ? नेतृत्व चयनका लागि फरक–फरक अभ्यास गर्दै आएका एमाले र माओवादी मिलेर बनेको नेकपामा कस्तो अभ्यास होला ? नेकपाभित्र यी प्रश्नमा बहस र छलफल सुरु भएको छ । नेकपामा जिल्ला तहदेखि केन्द्रसम्म नै सर्वसम्मत नभएको अवस्थामा निर्वाचनको बहुमतबाट नेतृत्व चयनको अभ्यास हुँदै आएको थियो माओवादी केन्द्रमा ‘जनवादी केन्द्रियता’ भन्दै सहमतिका आधारमा नेतृत्व चयन हुँदै आएको थियो ।
दुई पार्टी मिलेर बनेको नेकपाको पहिलो राष्ट्रिय महाधिवेशनमा चुनाव गर्दा गुटबन्दी र पुराना पार्टीका समूहहरू सक्रिय हुनसक्ने भएकाले सहमतिकै आधारमा नेतृत्व चयनको बहस हुने गरेको छ । तर जिल्लादेखि पार्टीको केन्द्रीय अध्यक्षसम्मका आकांक्षी धेरै भएकाले सबैको चित्त बुझाएर सहमति गर्न समेत सहज छैन । मुख्यतः अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपालबीच नै पार्टी अध्यक्षका लागि प्रतिस्पर्धा र रस्साकस्सी हुनसक्ने आकलन नेकपाभित्र छ ।
प्रधानमन्त्री ओलीले आफू अध्यक्षमा नदोहोरिने बताइरहँदा परिस्थिति हेरेर उनले समेत आकांक्षा देखाउन सक्ने वा उपाध्यक्ष वामदेव गौतमलाई अगाडि सार्नसक्ने सम्भावना समेत रहेको नेकपा स्रोतले जनाएको छ । यस्तो अवस्थामा सबै आकांक्षीहरूको सही व्यवस्थापन विना सहजै पार्टी अध्यक्षमा सहमति भइहाल्ने अवस्था देखिँदैन । यस्तो जटिल अवस्थामा केन्द्रमा मात्रै नभइ जिल्ला र प्रदेशमा समेत देखिने छ । उसो त माधव नेपाल पक्षका केही युवा नेताहरु समेत पार्टी एकतालाई कायम नै राख्न दुई अध्यक्ष र दुई महासचिवसहित बहुपदिय संरचनामा जानुपर्ने भन्दै लविङमा समेत लागेका छन् ।
पुर्व एमालेबाट राष्ट्रपति,प्रधानमन्त्री र पार्टी अध्यक्ष भएको अवस्थामा प्रचण्डलाई पार्टी अध्यक्ष नबनाए पार्टी एक नरहने तर्क उनिहरुको छ । त्यसैले दुवै नेतालाई व्यवस्थापन गर्न दुई अध्यक्ष रहने प्रणालीलाई कायम नै राख्नुपर्ने पक्षमा उनिहरु छन् ।
नेकपाभित्र अध्यक्षसहित महासचिव वन्ने आकांक्षीहरु समेत धेरै छन् । महासचिवका लागी पुर्व एमालेबाट विष्णु पौडेल,ईश्वर पोखरेल,शंकर पोखरेल र सुरेन्द्र पाण्डे आकांक्षी छन् भने पुर्व माओवादीबाट रामबहादुर थापा, वर्षमान पुन,शक्ति वस्नेत, जनार्दन शर्मा र गिरीराजमणी पोखरेल आकांक्षी छन् ।
नेतृत्व चयनको जटिलता हुँदाहुँदै पनि नेकपा अब महाधिवेशनउन्मुख भएको छ । महाधिवेशनका लागि पार्टी एकताका बाँकी काम टुंग्याउने र संगठित सदस्यता यकिन गर्ने विषय अगाडि बढाउनुपर्ने भएको छ । यसबारे स्थायी कमिटीबाट निर्णय भइसकेको छ भने निर्णय अनुसार पार्टीका सबै कमिटीलाई परिपत्र गर्ने तयारी भइरहेको छ । एकता टुंग्याउन र महाधिवेशनको तयारीका लागि अन्तरपार्टी निर्देशन जारी गर्ने विषयमा अध्यक्षद्वय प्रधानमन्त्री ओली र प्रचण्डबीच आईतबार छलफल भएको छ ।
पार्टीका महत्वपूर्ण कामबारे दुवै अध्यक्ष बसेर छलफल गर्ने सहमति भएअनुसार दुवै अध्यक्षले निर्देशनको मस्यौदामा छलफल गरिरहेका छन् । स्थायी कमिटी बैठकबाट पारित प्रस्तावमा उल्लेख छ, ‘संगठन विभागको कार्ययोजनामा आगामी कात्तिक महिनाभित्र सम्बन्धित जिल्ला कमिटीहरूले पार्टीको संगपठत सदस्यता विवरण अद्यावधिक गरी प्रदेश कमिटी हुँदै केन्द्रीय संगठन विभागमा पठाउने । मंसिर महिनाभित्र संगठित सदस्यता नवीकरण सम्पन्न गर्ने । प्रवास क्षेत्रमा पनि सोही अनुरूप गर्ने ।’
महाधिवेशनको कार्ययोजना पारित गर्न कात्तिक १५–१७ गतेसम्म केन्द्रीय कमिटी बैठक समेत बस्ने निर्णय गरिएको छ । पारित प्रस्तावमा उल्लेख छ, ‘महाधिवेशन सम्बन्धी कार्ययोजना पारित गर्न कात्तिक १५ देखि १७ गते केन्द्रीय कमिटीको बैठक आयोजना गर्ने । उक्त बैठकमा केन्द्रीय सचिवालयबाट एकताको राष्ट्रिय महाधिवेशन आयोजनाको तयारीका लागि दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गर्ने ।’
दुवै पार्टी एकतापछि नेकपामा विशाल कार्यकर्तापंक्ति र एउटै भूगोल र क्षेत्रमा धेरै नेता छन् । वडा कमिटी, गाउँ÷नगर कमिटी, निर्वाचन क्षेत्र कमिटी, जिल्ला, प्रदेश लगायत कमिटीमा पहिल्यैदेखि सक्रिय रहेका धेरै नेता छन् । यी नेताबीच सहमति गरेर नेतृत्व चयन गर्नु पेचिलो बन्नसक्ने अनुमान नेकपाकै नेताहरू गरिरहेका छन् । मतदानबाट नेतृत्व चयन गर्दा गुटबन्दी मौलाउने र कुनै एउटा समूह पार्टी संगठनबाट ‘आउट’ हुँदा संगठन कमजोर हुने आकलन समेत हुने गरेको स्रोतले जनाएको छ । जसले गर्दा नेकपाको राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको पाटो जटिल बन्नेछ ।




प्रतिक्रिया