कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको छ । रुपन्देही, नवलपरासी, मोरङ र महोत्तरीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

रुपन्देहीमा कपिलवस्तुका दुई जनाको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का ४७ वर्षीया महिला र ५७ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

स्वास्थ्यमा समस्या आएपछि महिलाको प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचार भइरहेको थियो भने ५७ वर्षीय पुरुषको भीम अस्पताल भैरहवामा उपचार भइरहेको थियो । संक्रमित पुरुषको आइतबार राती र महिलाको सोमबार बिहान मृत्यु भएको हो ।

त्यस्तै चितवन मेडिकल कलेजमा नवलपरासीका ६२ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको  छ । स्वासप्रश्वास र निमोनियाबाट पीडित रहेका ती वृद्धमा १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका एक संक्रमितको मृत्यु भएको छ । कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मोरङको धनपालथान–६ का ती पुरुषको आइतबार राति ८ः४५ मा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार प्रतिष्ठानको ल्याबबाट संक्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो ।

महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ । ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ । उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।