संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ :सभापति देउवा

संविधानको सफलताका लागि सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ :सभापति देउवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर शहीदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरुप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले सविधान दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै काँग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।

यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाइँदै आइएको छ ।

विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ । उनले उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा सबैलाई आग्रह गरेका छन् ।

संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने सभापति देउवाले विश्वास लिएका छन् । संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको व्यवहार जरुरी रहेको सभापति देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“काँग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ”, विज्ञप्तिमा उल्लेख छ ।