काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारमा सहभागी हुने नयाँ मन्त्रीको नाम टुंगो नलागेको बताएका छन् । प्रवक्ता श्रेष्ठले उपाध्यक्ष वामदेव गौतम र आफू मन्त्री बन्नेबारे सचिवालय बैठकमा छलफल नभएको बताए ।
आइतबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले आज पनि केही छलफल भएको र सोमबारको बैठकमा मन्त्रिपरिषद् पुर्नगठनबारे छलफल हुने कार्यसूची भएको जानकारी दिए ।
उनले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा विभिन्न कोणबाट छलफल भएको बताए । प्रवक्ता श्रेष्ठले नीतिगत छलफल भए पनि व्यक्तिको नाम भने टुंगो नलागेको बताए ।
पत्रकारले तपाई र वामदेव गौतम मन्त्री बन्ने विषयमा के भयो त ? भन्ने प्रश्नमा आज त्यो विषयमा छलफल नै नभएको जवाफ दिएका हुन् । आजको सचिवालयको बैठकले रिक्त रहेका मन्त्रालयमा नयाँ मन्त्रीको नाम सिफारिस गर्ने बताइएको थियो ।
आजको बैठक आगामी सचिवालय बैठकको चारवटा कार्यसूची तय गरेको छ । बैठकले मन्त्रिमण्डल पुर्नगठन, संवैधानिक र राजनीतिक नियुक्ती, पार्टी एकताका बाँकी काम, केन्द्रीय कमिटी सदस्यहलाई आर्थिक सहयोग र संघीय संसदमा रहेका सांसदहरुको बैठक भत्ताको विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।




प्रतिक्रिया