रिसोर्टमा आउन थाले पाहुना

रिसोर्टमा आउन थाले पाहुना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – कोरोना भाइरस संक्रमणबीच सरकारले गत बिहीबारदेखि होटल तथा रेस्टुरेन्ट खोल्न स्वीकृति दिएसँगै यहाँको माउन्टेन ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पा सञ्चालनमा आयो ।

संक्रमण बढेसँगै बन्द रहेको रिसोर्टले बिहीबार खुलेकै दिनदेखि सानो आकारमा आन्तरिक पाहुनाको बुकिङ पाएको छ । तीन दिन अवधिमा रिसोर्ट पाहुनाविहीन हुनुपरेको छैन ।

कोरोना संक्रमणबीच पनि यो रिसोर्टले पाहुना पाउँदा व्यवस्थापन समालेका कर्मचारी दंग छन् । को हुन् त यो बेला रिसोर्टमा बस्न पुग्ने पाहुना ? रिसोर्टका सञ्चालन निर्देशक किरण तुलाधर भन्छन्, ‘स्थानीय (पोखरेली) पाहुना रिसोर्टमा बस्न आइपुगेका छन् ।

पोखराका चिकित्सक, व्यापारी अहिलेका हाम्रा पाहुना हुन् ।’ लामो समयको बन्दाबन्दीले घरबाहिर निस्कन नपाएका पाहुना यो बेला एक रातका लागि भए पनि घर छाड्ने मौका खोजिरहँदा रिसोर्टमा बस्न आइपुगेको तुलाधरले बताए ।

‘यो बेला पोखरा छाड्ने र अलि टाढाका होटलमा पुग्ने वातावरण बनिसकेको छैन । त्यही भएर नजिकै र शान्त रिसोर्टमा उनीहरू बस्न आएका छन्,’ उनले भने, ‘सुरुका दुई दिन पोखराका मात्र पाहुना थिए ।

तेस्रो रातका लागि काठमाण्डुका पाहुनाले पनि बुकिङ गरेका छन् ।’ उनका अनुसार निजी सवारीसाधन भएका र अलि खर्च गर्न सक्ने क्षमता राख्ने पाहुना यो बेला पारिवारिक भ्रमणको रूपमा रिसोर्टमा बस्न आइपुगेका छन् ।

‘६ महिनासम्म घरबाहिर निस्कन नपाएर गुम्सिएका बालबच्चा र अभिभावक अहिले निजी सवारीसाधनमा एक रातका लागि भए पनि घरबाहिर जान खोजिरहेका छन् । उनीहरू यो बेलाका हाम्रा पाहुना हुन्,’ तुलाधरले भने, ‘होटलमा सतप्रतिशत अकुपेन्सी (पूर्ण क्षमतामा सञ्चालन) हुने त होइन ।

तर केही पाहुना रिसोर्टमा आइपुग्दा हामी चलायमान भएका छौं ।’ पोखरा सहरदेखि झन्डै ६ किलोमिटर टाढा निर्मलपोखरी जंगलछेउको यो रिसोर्ट सहरी कोलाहलबाट टाढा भएकोले पनि पाहुनाका लागि आकर्षक बनेको उनले बताए ।

‘हामीले अरू बेला बरु स्थानीय पाहुना पाउँदैनथ्यौं । तर यसपटक स्थानीय पाहुनाको सोधखोज आइरहेको छ,’ उनले भने । ६४ कोठाको यो रिसोर्टले सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकल पूरा गरेकाले पनि पाहुना ढुक्क हुन सकेको उनले बताए ।

बाराही ग्रुपले सञ्चालनमा ल्याएको सराङकोट माउन्टेन लज पनि असोज १ देखि खुलेको छ । यो लजमा ३० वटा कोठा छन् । सराङकोट माउन्टेन लज पनि खुलेको पहिलो दिनदेखि पाहुनाविहीन हुनुपरेको छैन ।यो समाचार आजको नागरिक दैनिकमा छ ।