छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा ६ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कपिलवस्तु, सिरहा, धादिङ, दैलेख, सप्तरी र बझाङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परि ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तु, बुद्धभूमि नगरपालिका–९ चौवन्नपुरमा लु.१ च ५४४८ नम्बरको बलेरोले लु.१० प ५९२४ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका डुमरा बस्ने ४५ वर्षीय रामधनी चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिरहा, गोलबजार नगरपालिका–७ पुरानो चोहर्वामा अनटेस्ट लेखिएको पिकअप गाडीले स.६ प ३९९३ नम्बरको मोटरसाइकललाई आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरी छिन्नमस्ता गाउँपालिका–४ बस्ने ५५ वर्षीया ललिता देवी साहको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी साहको उपचारको लागि भूमिजा अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । दुवै सवारी साधन र पिकअपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धादिङ, थाक्रे गाउँपालिका–६ महादेवबेशी बजारमा ना.३ ख ५१८३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने युबराज कार्कीकी ३ वर्षीया छोरी संचिता कार्कीको आइतबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख, नौमुले गाउँपालिका–१ मालुभिरस्थित सडकमा ना.७ त १२१६ नम्बरको ट्याक्टर सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरका चालक दुल्लु नगरपालिका–९ धामिगाउँ बस्ने २५ वर्षीय कविराज पुरीको घटनास्थलमै मृत्यु भएको छ ।

सप्तरी, शम्भुनाथ नगरपालिका–८ देवधार चोकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको आइतबार राति घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ ।

बझाङ, बुङगल नगरपालिका–१ तल्लोदह भन्ने स्थानमा लु.१ क १२७८ नम्बरको जेसिबी सडकबाट करिब ५० मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा जेसिबीमा सवार सोही नगरपालिका भिरगडा बस्ने २८ वर्षीय मान बहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ ।

दहबगरस्थित सडकमा फसेको ग.३ च १५६१ नम्बरको जिप निकाली दहबगरबाट ऐसेलुबगर जाने क्रममा उक्त जेसिबी दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका जेसिबी चालक सोही नगरपालिका–९ देउलीकोट बस्ने २४ वर्षीय महेश खडायत लगायत ३ जनालाई उपचारको लागि धनगढीतर्फ पठाइएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।