काठमाण्डु – जुम्लामा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । जुम्लाबाट १९ औं सत्यहाग्रह सुरु गरेका डा. केसी स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै विगत एक हप्तादेखि अनसनरत छन् ।
जुम्लाको एक मन्दीरबाट अनसन सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि स्थानीय प्रशासनले अस्पताल भर्ना गरेको थियो। डा. केसीले कुनै उपचार सेवा लिन मानिरहेका छैनन् ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले डा. केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौला पन्तले डा. कसीको जीवनरक्षाका लागि सरकारलाई दबाब दिन आह्वान गरेकी छन् ।
उनले भनिन्, ‘दुरदराज र बिकट क्षेत्रका बासिन्दाले पनि चिकित्सा शिक्षा र स्वास्थ्य उपचार सरल र भरपर्दो किसिमले पाउन सकुन् र बिपन्न परिवारका छोराछोरीले पनि सहज र सुलभ तरिकाले चिकित्सा शिक्षा हासिल गर्न सकुन् भनी डा गोविन्द केसी स्वस्थ्य क्षेत्रको सुधार र परिवर्तन गर्न जनहितका लागि जुम्लाको अस्पतालमा सिकिस्त बिमारी भै सत्याग्रह गरि रहेका छन्’, उनले भनिन् ।
डा. संग्रौलाले केसीका मागप्रति सरकार उदासिन रहेको भन्दै तत्काल माग सम्बोधन गर्न माग गरेकी छन् ।
‘चिकित्सा क्षेत्रका अभियन्ताको मागलाई सरकारले तुरुन्त सम्बोधन गरि डा केसीलाई बचाऔं । सम्पुर्ण नेपाली जनताले सरकारलाई दबाब दिऔं’, उनले भनिन् ।




प्रतिक्रिया