कोभिड–१९ ले विश्वको स्वास्थ्य प्रणाली र अर्थतन्त्र दवावमा पर्‍यो: प्रधानमन्त्री ओली

कोभिड–१९ ले विश्वको स्वास्थ्य प्रणाली र अर्थतन्त्र दवावमा पर्‍यो: प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ ले विश्वको सार्वजनिक स्वास्थ्य प्रणाली र अर्थतन्त्र दवावमा परेको बताएका छन् । उनले कोरोना भाइरसका कारण जनजीवन र जनजीविकालाई नराम्ररी प्रभावित पारेको बताएका हुन् ।

संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभाका अवसरमा न्युयोर्कमा आज भएको कोभिड–१९ तथा यसपछिको समयमादिगो विकासको २०३० एजेन्डाका लागि वित्तीय स्रोत जुटाउनेसम्बन्धी उच्चस्तरीय बैठकलाई ३२ भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका तर्फबाट सम्बोधन गर्दै उनले व्यापार तथा पर्यटनबाट हुने आम्दानीमा गिरावट, घट्दो प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण सेवाशुल्क जस्ता कारणले घट्दो वैदेशिक मुद्रा आप्रवाहबीच अधिकांश विकासशील राष्ट्रहरू र खासगरी अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूको नीतिगत सम्बोधन कमजोर रहेको बताए ।

प्रधानमन्त्री अ‍ोलीले संकटबाट राहत पाउनका लागि संयुक्त व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी प्रस्तावित विश्वव्यापी सहयोग तथा समन्वय संरचना जरूरी रहेको बताए ।

‘यस्तो संयन्त्रले क्षमता विकास आवश्यक पर्ने भूपरिवेष्टित विकासशील मुलुकहरूको विशेष आवश्यकताहरू सम्बोधन गर्न, व्यापारबाट लाभ लिन, संरचनागत आर्थिक रूपान्तरण हासिल गर्न तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न विशेष प्राथमिकता दिनुपर्दछ’, उनले भने ।

पुनस्थापनाको लागि महत्वपूर्ण मानिने वस्तु प्रवाहका लागि तत्कालै आवश्यक लचिला संरचना तथा व्यापार सहजीकरण संयन्त्रका लागि भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई वित्तीय सहायता अत्यावश्यक रहेको उनको भनाई छ ।

‘डिजिटल रूपान्तरण हाँसिल गर्ने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको प्रयासमा सहायता गरिनुपर्दछ’, उनले भने, ‘समान पहुँच, गुणस्तर र वित्तीय सुरक्षा साथै भ्याक्सीन तयार भएपछि सहज र सरल मूल्यमा सबैलाई स्वास्थ्य सेवाको पहुँच हुनेगरी सबल र लचिलो स्वास्थ्य प्रणालीको विकासमा सहायता गर्न हामी अन्तर्राष्ट्रिय समुदायलाई आव्हान गर्दछौं ।’

प्रधानमन्त्री ओलीले उच्च ऋणयुक्त देशहरूलाई ऋण खारेजी, अन्तर्राष्ट्रिय ऋणदाताहरूद्धारा ऋण उन्मुक्ति, ऋण सेवा घटाउन ऋणको पुन तालिकिकरण वा सटही, ऋण मिन्हा, उच्च ऋणयुक्त देशहरूको ऋणलाई शेयरमा रूपान्तरण तथा ऋण पुनः खरीद जस्ता माध्यमहरूबाट ऋण जोखिमलाई सम्बोधन गर्न सहायताका ठोस उपायहरू अवलम्वन गरिनुपर्ने बताए ।

‘हाम्रा मुलुकहरू दिगो रूपमा पुनस्थापित हुन औपचारिक विकास सहायताको हालको स्तरलाई कायम राख्न हामी हाम्रा विकास साझेदारहरूलाई आव्हान गर्दछौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरूमध्ये पनि अतिकम विकसित राष्ट्रहरूमा दिगो विकासका लक्षय प्राप्त गर्न वित्तीय अभाव गम्भीर देखिन्छ’, उनले भने, ‘ती मुलुकहरूलाई विकास सहायता, लगानी, प्रविधिको नवप्रवर्तन, विकास तथा हस्तान्तरणका लागि अनुमानयोग्य वाह्य सहायताको आवश्यकता रहेको छ ।’