भोजन एउटाको भजन अर्काको किन ?

भोजन एउटाको भजन अर्काको किन ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिन्दा आचार्य,
हिन्दु सनातन धर्म शास्त्रले जीवनभर चुकाउन नसकिने देबऋण, ऋषिऋण र पितृ ऋणको कुरा गर्छ, उसै गरी प्रकृतिको गुन,राज्यको गुन र किसानको गुन सुनले पनि तिर्न सकिन्न। पैसा भए आमा बाहेक जे पनि किन्न पाईन्छ भन्ने भावनात्मक कुरालाई भाडामा बच्चा जन्माई दिने सेरोगेट मदरले फिलतो बनाईदियो। भेनेजुएलामा झोला भरी पैसा लगेर सामान किन्न जांदा किन्ने सामान नपाएर पैसा बाटोभरी फालेर हिडेका तस्वीर‘उच्च विश्वास भएको कागजको खोस्टो विश्वास गुमेपछि के काम घर, सडक, विल्डिगं, पैसो र सामानले पेट भरिन्न।’

खाने वेलामा मेरो अगाडी खाना कसरी आईपुग्यो भनेर नसोच्ने मान्छे, खाने कुराको बीउवीजनदेखि मलसम्म शरीरको सुरुङ्ग यात्रामा क–कसको मेहनत र परिश्रम परेको छ भनेर अलिकत्ति पनि अनुग्रहित नहुने मान्छे फगत मुखबाट अन्न हाल्ने मलद्वारबाट निकाल्ने मेशिन मात्र हो । प्रकृतिवाट केही पनि नलिईकन एउटा तोरीको दानो समेत बनाउन सकिदैन भन्ने हेक्का राख्नु जरुरी छ । सबैकुरा प्रकृतिले दिएको छ,धेरै मानिसहरु प्रकृति प्रति अनुग्रहित कहिल्यै हुदैनन्। धन्यवादका केही शब्द खर्चिन केले रोकेको छ ?

मानौं तपाई डिभी परेर गएको अमेरिकामा जानु भएको छ, कुनै वेला डिभी परेर अमेरिका जानु धेरै नेपालीको सपना हुने गर्दथ्यो। डिभीको कोटा अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको कारणले तपाईले अवसर पाउनु भएको हो । यदि तपाई उत्तर कोरियामा हुनुहन्थ्यो भने डिभी चिठ्ठा परेर अमेरिका जान पाउनु हुन्थ्यो । ब्यापारी ब्यवसायीलाई आफ्नै मेहनत परिश्रममा मात्र गर्ब लाग्छ भने राज्यले लगानीको वातावरण बनाईदिएको, खुला उदार नीति अपनाएको कारणले सफलता पाएको कुरा उल्लेख गर्न भुल्नु अभिमान मात्र हुनेछ ।

भोजन एउटाको भजन अर्कैको गर्नेहरुमा प्रायः सबै ठूला नेता, कर्मचारी, पेशाविद्,एनजिओवाला, पत्रकारहरु छन जो अरु देश र विदेशी संस्थाका जासुस छन, भित्रभित्रै सुविधा लिएर जासुस गर्छन, अप्ठ्यारो परेका वेला देशलाई लात हानेर जासुसी गरेको संस्थाको फेवरमा काम गर्छन भन्ने आम नेपाली जनताको विश्वास छ । केही कर्मचारीहरु कार्यालयका अति गोपनिय सामग्री र निर्णयहरु मिडियालाई उपलब्ध गराउंछन, थाहा पाउनुपर्ने सरोकारवालाले थाहा पाउनु अघि नै सूचना बाहिर गैसक्छ । कोही कर्मचारी कामको प्रकृया कहांसम्म पुग्यो के निर्णय भयो, कस कसलाई भन्दा वा प्रभाव पार्दा काम बन्छ भनेर आफूले प्रत्यक्ष वा अप्रत्यक्ष लाभ लिईरहेका सेवाग्राहीलाई प्रकृयागत गोपनियता चुहाउने,आईडिया दिने र रिपोर्ट दिने गर्दछन। सांठगांठ र लाभको मात्रा हेरेर कागजात अभिलेख तलमाथी पार्न समेत पछि पर्दैनन।

‘भारतका खाता हे और चिनका गीत गाता हे‘ भन्ने उखान आजकल गज्जव चलेको छ। एक ठांउबाट अर्को ठांउमा बसाई सरेपछि, एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा भएपछि पनि पुरानै बसोवासको पुरानै कार्यालयको कुरा गरिरहन्छ मान्छे । भौतिक शरीर नयां स्थानमा भएपनि मन मष्तिष्क पुरानै स्थानमा हुन्छ। ज्हां छ,त्यहां रमाउन सक्दैन, गुनासो गरिरहन्छ की पहिलेकै कुरा राम्रो थियो। आफूलाई परेको पिरमर्का वा ईच्छ्याहरु आफू कार्यरत रहेको निकायका पदाधिकारी वा आफ्नै हाकीमलाई भन्दैन, सरुवा, पदस्थापना वा कुनै अवसर पाउंन बाहिरका मान्छेहरु, नेता वा नातामार्फत भनसुन गराउंदछ।

जुन संस्थामा काम गर्दछ, त्यहांको नेतृत्व र सहकर्मीहरुप्रति विश्वास र भरोसा छैन । परिवर्तनमा रमाउन नसक्ने, यथास्थितिलाई छोड्नै नचाहने र बर्तमानमा रमाउन नसक्ने मान्छेले होसमा रहेर राम्रोसंग कार्यसम्पादन गर्न सक्दैन। कुनै स्थान वा संस्थामा प्रभुत्व जमाएको थियो वा लाभ लिएको वा कुनै लतहरुबाट रमाएको थियो भने त्यही खोजिरहन्छ । ब्रहाण्ड गतिशिल छ, समय परिवर्तनशिल छ, त्यही क्षण,त्यही अवस्था फेरी कहिल्यै आउंदैन, यो कुरा स्वीकार्न जरुरी छ ।

एउटा नागरिकले पारीबाट नक्कली सर्टिफिकेट ल्याउंछ, चाकडी र भनसुनमा सरकारी जागिर खान्छ,नक्कली सर्टिफिकेट थाहा पाउलान, कारवाहीमा जागिर जाला र बढुवा भएर असुविधा भएका कार्यालयमा जानुपर्ला भनेर बढुवाको फाराम कहिल्यै भरेन । सधै बेस्कन अतिरिक्त आम्दानी हुने सुविधाजनक कार्यालयमा जागिर खायो, भौतिक सम्पत्ति निक्कै जोड्यो, छोराछोरी पैसा पेलेर डाक्टर ईन्जिनियर पढायो, छोराछोरीसंगै स्वदेशमा आर्जन गरेको सम्पत्ति विदेश पठायो।जव कर्मचारी समायोजनमा परेर संघीय नेपालको दुर्गममा सेवा गर्नैपर्ने पत्र पायो, भोलिपल्टै राजिनामा ठोक्यो। यस्तो चतुर अवसरवादीलाई विना स्पष्टिकरण सरकारले सजिलै राजिनामा स्विकृत गरेर स–सम्मान पेन्सन दियो । अब उही होनहार राष्ट्रसेवक विदेशमा बसेर सरकारको घोर आलोचना मिसिएका आदर्श वाक्य छाट्द्छ ।

छोराछोरी लाठे हुन्जेलसम्म बाबुआमाको कमाई सम्पत्तिमा रजाई गर्छन तर तीनै बाबुआमाको कुरा पटक्कै सुन्न चाहदैनन, साथीले भनेको कुरा काट्न सक्दैनन। बृद्धबृद्धा कुनै सन्तानको आश्रयमा बस्तछन, कुरा भने अरुकै सुनेर बहकिने भड्किने गर्दछन,मन कतै अन्तै अड्किएको हुन्छ, अरुकै बयान र चासोमा समय विताउंछ, मन रमाउन नसक्ने मानिसहरुका बीचमा समय गुजार्नुपर्ने बाध्यतामा देखिन्छन । मानिस आफूसंग जे छ, त्यसमा राजी छैन, अरुकै जस्तो चाहिएको छ । जहां बसिएको छ,जसको खाईएको छ, जहां काम गरिन्छ, त्यहां मन अडिएन वा त्यो स्थान वा कामप्रति राजी खुसी भईएन भने मानसिक तनाव सिर्जना हुने र जसले गर्दा मधुमेह,रक्तचाप, मुटुरोग, ग्याष्ट्रिक जस्ता शारीरिक रोग लाग्ने संभावना रहन्छ भन्ने कुरा मनोचिकित्सकीय अध्ययनले देखाएका छन ।

दैनिक जीवनका घर ब्यवहारमा हुने यी कुराहरु सामान्य लाग्छन तर भजन एउटाको भजन अर्कैको गर्नाले कत्ति अशान्ति निम्त्याउँछ, यी कुराको ख्याल हुदैन । मेहनत परिश्रम गर्ने,ब्यहोर्ने खेप्ने एउटा हुन्छ, ठिकठाक पार्ने बाठो बाचाल चतुर असल बन्दछ, औसत चेतना भएको र मनको स्तरभन्दा भित्र नछिरेको मान्छेहरु देखावटी कुरामा विश्वास गर्छन।

राष्ट्रबाट खोजे जति भोजन गर्न नपाएको झोकमा मस्तिष्कमा आशा अपेक्षाको भारी बोकेर,असन्तुष्टि, गुनासो र आक्रोस पोखेर राष्ट्रका संवाहक सत्तासिनहरुप्रति घृणाको भजन गाईरहेका छन। भोजन र भजनको खेलमा एक खालका मानिसहरु जो पहिले नै राज्यका स्रोतहरुमा पहूंच पाएका, भरपुर लाभ र अवसर लिएका तर अहिले त्यस्तो अवसर नपाएकाहरु छन । पहिले आफूले रजगज गरेको भुल्न नसकेका आरिसेहरु,अहिले पद,पहूंचमा रहेका ब्यक्तिले के के गरिसके होलान भन्ने अनुमानले शान्तिसंग बस्न सक्दैनन। अर्काथरी मानिसहरु मैले अवसर पाईन, पछाडी पांरिए, अवसर पाँए भने के के गर्छू भनेर आफू हेपिएको, पेलिएको, पछाडि परेको भन्ने अपहेलित मनस्थितिवाट आकुल ब्याकुल भएर बिरोध गर्नेहरु छन।जुन कुराको लागि चित्तमा विकार भरिरहेका र विरोध गरिरहेका छन,अवचेतन मनमा गाढिएर बसेको कुण्ठाले गर्दा मौका पाए टाउकोले टेकेर भए पनि अभिष्ठ पुरा गर्दछन् ।

राज्यको खर्चमा छात्रबृत्तिमा पढ्छ,आरक्षण कोटामा जागिर खान्छ, आकर्षक मानिने पद लिन्छ, सुविधाजनक ठांउमा पोष्टिङ गराउंछ,देश विदेश घुम्छ, तालिम सुविधा लिन्छ, सार्वजनिक स्रोतमा काम सिक्छ, काम विगार्छ, राज्यकै स्रोत साधनको दुरुपयोग गरेर आफूलाई बनाउंछ,परिवार सेटल गर्छ । सबै ब्यक्तिगत योजना पुरा भएपछि संस्था छोडेर हिन्छ, विदेश पलायन हुन्छ । पिछडिएको बर्ग र क्षेत्रबाट सुविधा लिन्छ र त्यही क्षेत्रमा सेवा गर्न जान अनेकन बहाना बनाउंछ।

कोही प्रेम एकसंग विवाह अर्कोसंग गर्छन, विवाह पूर्वको सम्बन्ध भूल्न सक्दैनन,पतिपत्नीलाई पुराना सम्बन्ध राम्रा रोमान्चक थिए भनेर बखान गरिरहन्छन तर सुन्नुपर्ने बाध्यतामा रहेका आफन्त माथी के गुज्रन्छ ख्याल गर्दैनन्। शतायु पुरा गरेर हालसालै स्वर्गबास हुनुभएका राष्ट्रकवि माधव प्रसाद घिमिरेकी धर्मपत्नी महाकालीलाई एक अन्तरबार्तामा प्रश्न सोधिएको थियो-राष्ट्रकविले पहिली पत्नीको मृत्यु भएपछि तपाईलाई विवाह गर्नु भएको थियो,जेठी पत्नीको मृत्यु शोकमा गौरी महाकाब्य लेख्नु भयो, कहिल्यै पहिली पत्नीको कुरा गर्नु भएन ? स–साना टुहुरा दुई छोरीहरु र उमेरको धेरै अन्तरालको बीचमा पनि कसरी आदर्शतम सम्बन्ध बनिरह्यो ? भन्ने प्रश्नमा महाकालीले भनेकी थिईन- वहांले पहिलेको सम्बन्धको बारेमा कुरा कहिल्यै गर्नु भएन, किन होला भने देखि पहिलेको सम्बन्धको कुरा गर्दा, तुलना गर्दा चित्त दुखाउली भनेर हुन सक्छ। शोकलाई स्वीकार गरी सिर्जनामा बदल्न, बर्तमानलाई सम्मान गर्न कोही राष्ट्रकविसंग सिकोस्।

आफ्नै अगाडि श्वास फेरिरहेका,मुटु धड्किरहेका, आखा झिमझिम गरिरहेका, नशनाडीमा थाहा पाउने चेत दगुरिरहेका,ब्रम्हाण्डिय उर्जाको स्पन्दनको डोरीले बाधिएका, जिउदोजाग्दो मानिसहरुलाई महत्व दिदैनौं। मनको चन्चलता वा कठोरता नाघेर कोमल, संवेदनशिल र बोधगम्य हृदयमा पुग्न पक्कै केही कुराहरुले रोकेका, छेकेका छन्। आफ्नो अगाडी नभएका, स्मृतिमा मात्र रहेका र भौतिक शरीरमा नभएका मानिसहरुको बारबार स्मरण गर्छौं,भज्दछौं ।

जन्मदिवसलाई भन्दा जन्मजयन्तिलाई, जन्मदिनलाई भन्दा मृत्यु तिथीलाई महत्व दिन्छौं, जसले वितिसकेको मात्र कुरा गर्छ त्यसलाई भूत भन्दा केही फरक पर्दैन। हिजो मैले के गरेको थिए भन्दा आज मैले के गरिरहेको छु ? हिजो म के थिए भन्दा आज म के बनेको छु महत्वपूर्ण हुन्छ । जसको भोजन गरिन्छ,उसैको भजन गर्नु न्यायोचित हुन्छ । टाढाको देवताभन्दा नजिकको भूत काम लाग्छ भन्ने उखानलाई टाढाको आफन्तभन्दा नजिकको छिमेकी काम लाग्छ भनेर पुनर्लेखन गर्दा हुन्छ। सांच्चै मान्छेको मन जाच्ने मेशिन आविष्कार गरेर प्रयोगमा ल्याउने हो भने कति प्रतिशत मान्छे भोजन एउटाको भजन अर्काको गर्दा हुन तथ्याङ्कको नतिजा विचलित पार्ने खालको आउदो हो ।