काठमाण्डु – नेपाल र इजरायल सरकारबीच भएको श्रम समझदारीअनुसार अबको छ महिनाभित्र नेपाली श्रमिक इजरायल जान सुरु गर्ने छन् ।
दुई देशबीच कार्यान्वयन प्रोटोकलमा श्रम समझदारीमा हस्ताक्षर सम्पन्न भएपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यससम्बन्धी कार्यविधि तयार गरेर श्रमिक पठाउने प्रक्रिया गर्ने जनाइएको छ । त्यसका लागि नेपालका लागि इजरायली राजदूत र सम्बन्धित नेपाली अधिकारीबीच प्रोटोकलमा हस्ताक्षर हुनेछ ।
नेपाली श्रमिकले इजरायलको केयरगिभर, कृषि, होटल, रेस्टुरेस्ट, निर्माणलगायतका क्षेत्रमा रोजगारीको अवसर पाउने छन् तर प्रत्येक क्षेत्रमा रोजगारीको अवसर खुल्नका लागि इम्प्लिमेन्टेसन प्रोटोकलमा हस्ताक्षर गरेपछि मात्रै श्रमिक भर्नाको प्रक्रिया खुला हुनेछ । यसअन्तर्गत पहिलो चरणमा केयरगिभरको क्षेत्रमा पाँच सय नेपाली श्रमिक इजरायलले लैजाने छ । नेपाली श्रमिकलाई इजरायल पठाउने काम वैदेशिक रोजगार विभागले गर्नेछ ।
विभागका महानिर्देशक कुमार दाहालले अबको छ महिनाभित्र पहिलो चरणका लागि तोकिएका पाँच सय जना इजरायल जान सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यो प्रक्रियाबाट इजरायल गएकाले आआफ्ना क्षेत्रमा के कस्तो इमानदारी देखाउन छन्, त्यही आधारमा पछि थपिने सङ्ख्याको टुङ्गो लाग्नेछ । ”
इजरायल र नेपाल सरकारबीच २०७२ साल साउनमा केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा एक सम्झौता (एमओयू)मा हस्ताक्षर भएको थियो । कमाइ र सुरक्षाको दृष्टिले निकै आकर्षक मानिएको इजरायलको रोजगारी सरकारी स्तरमा श्रम सम्झौता (जीटूजी) भएको पाँच वर्ष नपुग्दै बन्द भएको थियो । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निकै महŒव दिएर सुरु गरेको केयरगिभर रोजगारीमा श्रम सम्झौता भएको दुई वर्षपछि इजरायलबाटै श्रमिकको माग आउन छाडेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार श्रम सम्झौता भएपछि इजरायल सरकारले दुईपटक श्रमिकको माग गरेको थियो । त्यसपछि श्रमिकको माग नै बन्द गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । ६० प्रतिशत महिला र ४० प्रतिशत पुरुष केयरगिभरको रोजगारीमा जाने सम्झौता भएको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया