काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डा. गोविन्द केसीका मागप्रति गम्भीर बन्न सरकारलाई आग्रह गरेका छन् ।आइतबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले डा. केसीका माग तत्काल पूरा गरेर जीवन रक्षा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग सार्वजनिक अपिल गरेका छन् ।
डा. केसीले अनशन बसेको २१ दिन पुगेको छ । तर उनको स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न कुनै गम्भीरता प्रस्तुत नगरेको भन्दै देउवाले आपत्ति जनाएका छन् ।
‘चिकित्सा शिक्षामा सुधार देखि कोरोना विरुद्ध प्रभावकारी कदम समेतका उहाँका मागहरु केवल एक ब्यक्तिका माग होइनन्, प्रतिपक्षले निरन्तर उठाइरहेको र सिंगो देशले भावनात्मक ऐक्यवद्धता जनाएका मागहरू हुन् । जनभावना अनुरुपका माग र आवाजलाई सुनुवाइ गर्नु सरकारको कर्तव्य हो । तर सरकारले शुरूवातमा डा. केसीप्रति दुव्र्यवहारपूर्ण ब्यवहार गर्नु एकातर्फ आपत्तिजनक थियो भने अर्कातर्फ अहिलेसम्म संवाद र समाधानमा उदासिन ब्यवहार देखाउनुले लोकतान्त्रिक प्रणाली भित्र कम्युनिष्ट तन्त्रको अनुदार चरित्रलाई पुष्टि गरेको छ’, उनले भनेका छन् ।
सभापति देउवाले ०४६ को परिवर्तनपछि कांग्रेसको नीति र नेतृत्वमा नेपालमा चिकित्सा शिक्षाको विस्तार भएको स्मरण गरेका छन् । चिकित्सा शिक्षा क्षेत्रमा विसंगति बढेपछि सुधारका लागि तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा रहेकोे सरकारले डा. केदारभक्त माथेमाको नेतृत्वमा चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय कार्यदल गठन गरेको थियो । त्यस्तै उनले डा. केसीका मागहरू पूरा गर्दै आफू नेतृत्वमा रहेकोे अघिल्लो सरकारले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश’ ०७४ कार्तिक २४ मा जारी गरेको बताएका छन् ।
‘वर्तमान सरकारले त्यसलाई विस्थापित गर्नुको परिणाममा आजको स्थिति उब्जिएको हो’, उनले भने , ‘वर्तमान प्रधानमन्त्रीकै अग्रसरतामा ०७५ को साउनमा डा. केसीसँग गरिएको सम्झौतालाई माघ महिनामा उल्लंघन गरेर द्वन्द्वको बीउ सरकारले त्यसबेलानै रोपेको थियो । अतः फेरि पनि संवाद मार्फत समाधानमा पुगेर त्यसको सार्थक कार्यान्वयनमा इमान्दारी प्रस्तुत गर्न म प्रधानमन्त्रीजीलाई आग्रह गर्दछु ।’
देउवाले डा. केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न, मागहरू पूरा गर्न र उनको जीवन रक्षा गर्न किन्चित ढिलाई नगर्न आग्रह गरेका छन् । उनले ढिलाइको दुष्परिणाम गम्भीर हुने चेतावनीसमेत दिएका छन् ।




प्रतिक्रिया