काठमाण्डु – साझा पार्टीले डा. गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । साझा पार्टीले २२ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गइरहेको र सरकारले उदासिनता पस्तुत गरेको बताएको छ ।
पार्टी सहप्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गर्दै अक्सिजनको सहारामा बाँचिरहेका डा. केसीका माग पूरा गर्नेबारे सरकराले वार्ताटोलीसमेत गठन नगरेको बताएका छन् ।
‘यस पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा समेत सरकारले क्रुर असंवेदनशीलता प्रकट गरिरहेको छ र वार्ता टोलीसम्म गठन गरेको छैन’, उनले भनेका छन्, ‘कुचोले बढार्नु पर्ने कसिङ्गर, हावाले उडाएर लैजाओस् भनेझैँ रवैया प्रस्तुत गरिरहेको छ । के सरकारले डा केसीलाई मार्नै खोजेको हो ?’
उनले विज्ञप्तिमा डा. केसीले १९औँ अनशनमा राखेका कुनचाहिँ माग नाजायज छन् ? भन्दै प्रश्न गरेका छन् ।
‘विश्वमै विरलै भेटिने डा केसी जस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पुरा गर्नुपऱ्यो’, सहप्रवक्ता पाठकले भनेका छन्, ‘डा. केसीले २०६९ सालमा पहिलो अनशन सुरु गरेयताका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले तथा देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्दाजुल्दा छन् । तर यिनै दलले पटक पटक सरकारको नेतृत्व गर्दा पनि डा. केसी उस्तै माग राखेर फेरी फेरी अनसनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय हो ।’
उनले ०७५ साउन १० गते केसीसँग केपी ओली नेतृत्वको सरकारले गरेको सम्झौता कार्यान्वयन गराउने सार्वजनिक प्रतिवद्धता जाहेर गरेको बताए
‘प्रधानमन्त्रीलाई डा. केसी तिनै मागहरूसहित पुनः अनशन बस्दा किन लज्जाबोध भइरहेको छैन ? किन उल्टै जिम्मेवार मन्त्री खटाएर सरकार उनलाई गलत देखाउने चेष्टा गर्दैछ ?’, उनले प्रश्न गरे ।
डा. केसीको जारी अनसनका सबै मागप्रति पूर्ण ऐक्यवद्धता प्रकट गर्दै साझा पार्टीले सरकारलाई दबाब दिन कैलालीदेखि झापासम्मका विभिन्न जिल्लामा २ सातायता दबाबमूलक प्रदर्शन गर्दै आएको उनले बताए ।
‘सरकारी वेवास्ताले डा केसीको ज्यान जोखिममा परे त्यसको मूल्य सरकारलाई भारी पर्नेमा हामी समयमै सचेत गराउन चाहन्छौँ’, उनले भने ।




प्रतिक्रिया