काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । चितवन, धरान र विराटनगरमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत एक वृद्धको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । कावासोती नगरपालिका ५ का ७७ वर्षीय वृद्धको आज विहान मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए । निमोनिया र श्वासप्रश्वासबाट समस्या भइ ती वृद्ध यही असोज १६ गते अस्पतालमा भर्ना भएका थिए ।
त्यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड –१९ अस्पतालमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा आशिस श्रेष्ठले मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको जानकारी दिए ।
साथै विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचाररत मोरङ कानेपोखरी गाउँपालिका–६ र सुन्दरहरैचा नगरपालिका–४ का पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
कानेपोखरीका ५० वर्षीय पुरुष र सुन्दरहरैचा नगरपालिका–४ का ४५ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।




प्रतिक्रिया