काठमाण्डु – महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर ‘मोटरेबल’ सडक निर्माण गर्न सर्वेको काम सुरु भएको छ । कुल ८७ किलोमिटर लम्बाइको यो सडक निर्माणको जिम्मा नेपाली सेनाले पाएको छ । नेपाली सेनाले दार्चुलाको व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङ्रु जोड्ने घोडेटो बाटोको ट्र्याक सञ्चालनमा आएपछि नयाँ कामको थालनी भएको हो ।
निर्देशनालयका प्रवक्ता सन्तोषबल्लभ पौडेलले सरकारबाट सेनालाई प्राप्त भएको जिम्मेवारी बमोजिम महाकाली करिडोर अन्तर्गतको घाँटीबगर–टिङ्कर सडक निर्माणको सर्वे सुरु गरिएको जानकारी दिनुभयो । सर्वेका साथै सो सडकको निर्माण सम्पन्न गर्न यो वर्ष नै हुम्लिङ र माल भन्ने स्थानमा दुईवटा क्याम्प राखिने जानकारीसमेत उहाँले दिनुभयो । सेनाले घाँटीबगरदेखि छाङरु जोड्ने ४५० मिटर घोडेटो बाटोको ट्र्याक खोलेपछि नेपाली सेनाले स्थानीयलाई हस्तान्तरणसमेत गरिसकेको छ ।
घाँटीबगर–टिङ्कर सडक निर्माण गर्न सर्वे लगायतको कामलाई अगाडि बढाउन नेपाली सेनाका महासेनानी रमेश गुरुङको नेतृत्वमा ५३ सदस्यीय प्राविधिक टोली काठमाडौँबाट दार्चुलाको खलङ्गा पुगी काम अगाडि बढाएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । “सेनाको टोलीले त्यहाँ सडक निर्माणका लागि क्याम्प स्थापनाका साथै सर्वे र डिजाइनको काम गर्ने छन्,” सैनिक प्रवक्ता पौडेलले भन्नुभयो, “निर्माण कार्य सम्पन्न भएसम्म टोली त्यहीँ रहने छ ।”
आठवटा गाडीमा सडक निर्माणका लागि आवश्यक सामग्री र उपकरणसहित सेनाको टोली त्यहाँ पुगेको हो । गत वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले महाकाली करिडोर अन्तर्गतको उत्तरीतर्फ रहेको व्यास गाउँपालिका–२ स्थित घाँटीबगरदेखि टिङ्करसम्मको सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सो सडकखण्डको कुल लम्बाइ ८७ किलोमिटर रहेको छ । सो सडकखण्ड निर्माणका लागि चालू आर्थिक वर्षमा पाँच करोड पाँच लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया