काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा‘बादल’ले कोरोनाका कारण उत्पन्न भएको आर्थिक र सामाजिक असरका कारण अपराधका घटनाहरु बढ्न सक्ने भन्दै तिनलाई रोक्नेगरी सुरक्षा रणनीति बनाउन निर्देशन दिएका छन् ।
आज भर्चुअल रुपमा आयोजना गरिएको प्रदेश नं १ को प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्वोधन गर्दै गृहमन्त्री थापाले कोरोनाका कारण अपराधका नयाँ शैली बढ्न थालेको भन्दै यसलाई रोक्नेगरी सुरक्षा योजना र रणनीति बनाउन मातहतका निकायलाई निर्देशन दिए ।
उनले भने, ‘नयाँ चुनौतीहरुलाई सफलतापुर्वक सम्पन्न गर्न, जनताको जिउधनको सुरक्षा गर्न अहिलेको सुरक्षा रणनीतिलाई परिमार्जन गर्दै उच्चस्तरको सुरक्षा योजना र रणनीति बनाउन आजको यो गोष्ठीले सहयोग गर्ने मैले विश्वाँस लिएको छु ।’
उनले पछिल्लो समय लैङ्गिक हिंसा र बलत्कारका घटना बढेको बताउँदै यस्ता घटनामा चनाखो र संवेदनशिल हुन निर्देशन दिए ।
गृहमन्त्री थापाले अन्तर्राष्ट्रिय सिमानाका बन्दलाई यथावत राख्ने निर्णय भएको बताउँदै सिमा नाका नियन्त्रण र नियमनलाई प्रभावकारी बनाईराख्न आग्रह गरे ।
उनले प्रहरी समायोजन सम्बन्धी प्रस्ताव पास भईसकेकोले अब समायोजनको प्रक्रिया अघि बढ्ने र छिट्टै प्रदेश प्रहरी गठन हुने विश्वाँस व्यक्त गरे ।
उनले दशैतिहारजस्ता चाडपर्व नजिकएको भन्दै कालोबजारी र महंगी नियन्त्रणका लागि नियमित रुपमा बजा अनुगमन र कारवाही गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।
गृहमन्त्री थापाले चाडपर्व लक्षित प्रदेशस्तरीय र जिल्लास्तरीय सुरक्षा योजना बनाउन पनि मातहतका नियकालाई निर्देशन दिए ।
प्रदेशस्तरी भर्चुअल सुरक्षा गोष्ठी
कोरोनाका कारण सातै प्रदेशमा लामो समयदेखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी रोकिएकोमा आज प्रदेश नं १मा भर्चुअलरुपमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।
गोष्ठीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सोही प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख लगायतले संवोधन गरेका थिए ।
गोष्ठीमा १ नम्बर प्रदेशका १४ जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको सुरक्षास्थित तथा अन्य गतिविधिबारे रिपोर्टिङ गरेका थिए ।
सो सुरक्षा गोष्ठी बैशाखमै गर्नुपर्नेमा कोरोनका कारण रोकिएको थियो ।




प्रतिक्रिया