कांग्रेसमा टिकट नपाएको सिटौला असन्तुष्ट,कांग्रेसमा यी हुन् टिकट नपाउने प्रभावशाली नेताहरु ?

कांग्रेसमा टिकट नपाएको सिटौला असन्तुष्ट,कांग्रेसमा यी हुन् टिकट नपाउने प्रभावशाली नेताहरु ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– निर्वाचन आयोगमा दर्ता भएको समानुपातिक उम्मेदवारको सूचीमा परिसकेका कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलाले झापा ३ बाटै निर्वाचन लड्ने घोषणा गरेका छन् । सोमबार झापा पुगेका उनले नेता कार्यकर्तासँग भने, ‘मसंग सल्लाह नै नगरी मेरो नाम समानुपातिकमा पठाइएको छ, तर म झापा–३ बाटै निर्वाचन लड्छु ।’

 

 

कार्यकर्ताले समानुपातिकमै जान आग्रह गरे आफूलाई मान्य हुने पनि उनले बताएका छन् ।

 

 

एमाले र माओवादी केन्द्रले वाम गठबन्धन बनाएपछि कांग्रेसले राप्रपासंग मिलेर बलियो गठबन्धन बनाउन खोजेको छ । त्यसकै चेपुवामा सिटौलाजस्ता शीर्ष नेता पनि परेका छन् । गत संविधानसभा निर्वाचनमा सिटौलासंगै पराजित राप्रपाका राजेन्द्र लिङ्देनका लागि सिट छोड्न कांग्रेस तयार भएको छ ।

 

 

कांग्रेसले गत संविधानसभामा झापामा चार क्षेत्र जितेको थियो । एमालेको पकड भएको झापामा सिटौलाजस्ता प्रभावशाली नेता चुनावमा नजाँदा यसको फाइदा वाम गठबन्धनलाई हुन्छ, कांग्रेस कार्यकर्ताको मनोबल गिर्छ भन्नेहरूले पनि सिटौलालाई प्रत्यक्षमै उठ्न सुझाब दिइरहेका छन् ।

 

विधानविपरीत बनेको समितिले मनपरि गरेको आरोप
(जिल्लामा आफनो प्रभाव रहे पनि टिकट नपाएकोमा कांग्रेसका केही नेता असन्तुष्ट छन् । संखुवासभा कांग्रेसमा तीनपटक सभापति भएका तारामान गुरुङ प्रदेश र प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बन्नबाट वञ्चित भए ।

 

 

 

उनी गत संविधानसभा निर्वाचनमा संखुवासभा १ बाट विजयी भएका थिए । संखुवासभा २ बाट जितेका दीपक खड्का यसपटक उम्मेदवार बनेका छन् । गुरुङ कृष्णप्रसाद सिटौला र खड्का महामन्त्री डा. शशांक कोइरालानिकट मानिन्छन् ।

 

-ओखलढुंगामामा जिल्ला सभापति प्रदीप सुनुवार प्रदेश ‘क’ बाट सिफारिस भए पनि ‘ख’ बाट उम्मेदवार बनाइएका छन् । आफ्नो प्रभाव नभएको क्षेत्रमा उम्मेदवार बनाइएकोमा उनी दुःखी छन् ।

 

 

-कमला पन्त लगातार तेस्रोपटक समानुपातिक सूचीमा परेकी छिन् । त्यस्तै, बाग्लुङमा प्रभावशाली उम्मेदवार भए पनि चम्पादेवी खड्कालाई प्रत्यक्षमा उठाइएको भन्दै कांग्रेसमा असन्तुष्टि छ ।

 

 

 

-कांग्रेसले युवा नेता बद्री पाण्डेलाई प्रतिनिधिसभा र प्रदेश सभा दुवैमा टिकट दिएन । प्रतिनिधिसभाको समानुपातिक सूचीमा समेत उनको नाम छैन । बाजुराका पाण्डे गत संविधानसभामा समानुपातिकबाट सांसद बनेका थिए । बाजुराबाट जिल्ला सभापति कविराज पण्डितलाई प्रतिनिधिसभाको टिकट दिइएको छ ।

 

 

 

-उम्मेदवार छान्ने १४ सदस्यीय समिति विधानविपरीत २२ सदस्यीय बनाइएको, समितिका सबै सदस्यको हस्ताक्षर नगरी टुंगो लगाइएको, केन्द्रीय समितिबाट अनुमोदन नगरिएको भन्दै नेतृत्वको आलोचना सुरु भएको छ । असन्तुष्टि जनाउनेमा कृष्णप्रसाद सिटौला र रामचन्द्र पौडेल पक्षका नेता छन् ।

 

 

 

-‘विधानविपरीत संसदीय समिति २२ सदस्यीय बनाइयो । अझै यसमा दुई सदस्यले थप हालीमुहाली गरेका छन् । टिकट वितरण निर्णयको माइन्युटमा समितिकै सदस्यको हस्ताक्षर छैन,’ कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘दाबेदार र प्रभावशालीलाई समेत टिकट दिइएको छैन ।’ आजको नयांपत्रिका दैनिकमा समाचार छ ।