धनगढी – कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशमा उपचार पाउन नसक्ने अवस्था देखिएको छ। गम्भीर प्रकृतिका लक्षणसहित संक्रमित बढेपछि सुदूरपश्चिममा भएका सीमित आइसियु, भेन्टिलेटर र आइसोलेसन बेड भरिभराउ छन्। आइसियु र भेन्टिलेटर नपाएर कैयौं संक्रमित समस्यामा परेका छन्।
सुदूरपश्चिमको रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पतालका १५ वटै आइसियु बेड भरिएका छन्। जसका कारण आइसियु आवश्यक पर्ने अन्य संक्रमित उपचारबाट वञ्चित भएका छन्। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जटिल प्रकृृतिका संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरको अभाव भएको बताए। उनका अनुसार उक्त अस्पतालमा आइसियु चाहिने गम्भीर संक्रमितको संख्या १७ छ। १५ वटा मात्र आइसियु बेड भएकाले दुईजनालाई अक्सिजनजडित बेडमा राखेर उपचार भइरहेको छ।
अस्पतालमा १० वटा बेडमा अक्सिजन जडान गरेर उपचारको व्यवस्था गरिएको उनको भनाइ छ। धनगढीका १२ सहित सुदूरपश्चिमका १७ संक्रमितको अवस्था जटिल बनेकाले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका–१ की ८२ वर्षीया महिला र वडा नं. २ का ८४ वर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको छ।
यसैगरी धनगढीबाहिर कञ्चनपुरका भीमदत्त, वेदकोट र बेलौरी नगरपालिका, डडेल्धुराको अमरगढी नगरपालिका र दार्चुलाको महाकाली नगरपालिकाका एकएक गरी पाँचजनाको पनि आइसियुमा उपचार भइरहेको छ। ‘आइसियु भरिएकाले अब जटिल संक्रमितलाई उपचार गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘अन्यत्र रेफर गर्नुको विकल्प छैन।’ सेती प्रादेशिक अस्पताल कोरोना उपचार विभाग प्रमुुख चिकित्सक शेरबहादुर कमरले कोरोना संक्रमणका कारण अवस्था नियन्त्रणबाहिर जान लागेको बताए। ‘कोरोना संक्रमण र गम्भीर लक्षण भएका संक्रमितको संख्या बढ्दै गएर अवस्था जटिल बनेको छ,’ उनले भने, ‘अवस्था नियन्त्रणबाहिर जान लागिसक्यो।’ जटिल प्रकृतिका संक्रमितको संख्या र मृत्युदर पनि बढ्दै गएको उनले बताए। ‘जटिल प्रकृतिका संक्रमितको संख्या बढेसँगै आइसियु अभाव हुन लाग्यो,’ उनले भने, ‘अब अवस्था भयावह हुने देखिन्छ।’
संक्रमण डरलाग्दो गरी बढिरहँदा पनि सर्वसाधारणले त्यसबाट जोगिन सामान्य नियम र सावधानी अपनाउन छाडेका छन्। धेरैजसो मास्क नै लगाउँदैनन् भने भीडभाड पनि ज्यादै बढेको छ। पसल, विभिन्न सार्वजनिक स्थानमा सामाजिक दूरी कायम राख्न छाडिएको छ।
आइसोलेसन बेड पनि अपुग
संक्रमितको संख्या बढेसँगै सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्पतालमा आइसोलेसन बेड पनि अभाव भएको छ। ५० आइसोलेसन बेड रहेको सेती प्रादेशिक अस्पतालमा ४९ बेड भरिएका छन्। थप संक्रमित आए बेड अभाव हुने सूचना अधिकारी श्रेष्ठले बताए। ‘आइसोलेसन बेड पनि भरिसकेका छन्, अब संक्रमित आए भर्ना गर्न सक्ने अवस्था छैन,’ उनले भने। सेती प्रादेशिक अस्पतालले व्यवस्थापन गरिरहेको ५० शड्ढयाको अस्थायी अस्पतालमा शनिबार दिउँसोसम्म ४९ जना संक्रमित भर्ना भएका हुन्।यो समाचार आजको नागरिक दैनिकमा छ ।




प्रतिक्रिया