पार्टी एकता अप्ठ्यारोमा छ, कमरेडहरू आरोप-प्रत्यारोप नगरौँ: मन्त्री ज्ञवाली

पार्टी एकता अप्ठ्यारोमा छ, कमरेडहरू आरोप-प्रत्यारोप नगरौँ: मन्त्री ज्ञवाली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पार्टी एकता अफ्ठ्यारोमा परेको बताएका छन् । उनले पार्टी एकता रक्षाका लागि नेताहरुलाई नीतिगत बहस गर्न आग्रह गरेका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत मन्त्री ज्ञवालीले पार्टीभित्रको विवाद बैठकमा छलफल गर्न आग्रह गर्दै आरोप प्रत्यारोपमा नलाग्न नेताहरुलाई आग्रह गरेका हुन् ।

‘पार्टी एकता अप्ठ्यारोमा छ । तर एकताको रक्षा प्रयाश पनि जारी छ । आशा छ, संकटका बादलहरू हटेर जानेछन् । कमरेडहरूलाई आग्रह छ, नीतिगत वहस गरौँ, पुष्टि गर्न नसकिने आरोप-प्रत्यारोप नगरौँ’, उनले भनेका छन् ।

मन्त्री ज्ञवालीले नेकपाका सबै नेताहरु अहिले एउटै डुंगामा रहेकाले भोली कुनै घुम्तीमा जम्काभेट हुने भएकाले बोल्ने बेलामा विचार पुर्याउन आग्रह गरेका छन् ।

‘एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य जम्काभेट हुनेछ ।आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ,’ उनले भनेका छन् ।

पछिल्लो समय नेकपाका नेताहरु दुई कित्तामा उभिन थालेपछि पार्टी एकताबारे चिन्ता व्यक्त गर्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर नेताहरु एकअर्कालाई आरोप प्रत्यारोपमा उत्रिएपछि नेकपाभित्रको विवाद सतहमा आएको हो ।

त्यस्तै प्रधानमन्त्री अ‍ोलीले पार्टी अध्यक्ष प्रचण्डसँग मिलेर जान नसक्ने कुरा नेताहरुसँगको भेटमा बताउँदै आएका छन् । नेकपाभित्रको विवाद समाधानका लागि मंसिर ३ गते सचिवालय बैठक बोलाइएको छ ।