काठमाण्डु – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगेको छ । विवादबीच सचिवालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्ष बहुमत र प्रधानमन्त्री केपी शर्मा ओली पक्ष अल्पमतमा रहेको देखिन्छ ।
ओली कित्तामा उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल स्पष्ट रूपमा देखिएका छन् भने प्रचण्ड पक्षमा वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ देखिएका छन् । गृहमन्त्री रामबहादुर थापाले आफूलाई कुनै पनि कित्तामा स्पष्ट रूपमा देखाएका छैनन् ।
रुखो व्यवहारका कारण रुष्ट भएर प्रधानमन्त्री ओलीको विपक्षमा देखिएका वरिष्ठ नेता नेपाल पार्टी फुट्ने अवस्थामा पनि प्रचण्डसँगै रहन्छन् ? नेकपाभित्र बहसमा रहेको यो प्रश्न सँगसँगै प्रधानमन्त्री ओलीले नेता नेपाललाई फकाउन कोसिस गरिरहेका छन् । तर सामान्य अवस्थामा उनी ओली पक्षमा लाग्ने देखिँदैन ।
अध्यक्ष प्रचण्ड पक्षमा एकजुट भएका नेताहरू प्रचण्डलाई राम्रो मानेर समर्थनमा लागेका होइनन्, ओली विरोधीहरू प्रचण्डमुनि भेला भएका हुन् । ओलीले अवसर नदिएको, पेल्न खोजेको, मनपरी गरेको, सरसल्लाह नगरेको लगायत असन्तुष्टि नेताहरूसँग छन् । तर पार्टी फुट्ने अवस्थामा वा ओलीलाई तह लगाएपछि हुने शक्ति बाँडफाँडमा प्रचण्ड खेमाभित्रै सहमति जुट्ला त ? नेता नेपाल समूहले आफ्नो समूहभित्र यसबारे छलफल चलाउन थालेको छ ।
प्रचण्डलाई विधिपद्धतिले कस्दै माधव नेपाल
ओली–प्रचण्डबीच विवाद उत्कर्षमा रहेका बेला वरिष्ठ नेता नेपालले प्रचण्डलाई विधिपद्धतिको ऐना देखाउन थालेका स्रोतले जनाएको छ । नेपाल निकट स्रोतका अनुसार प्रचण्डले आफ्नो बोली वचन चल्ने बेला विधिपद्धति बिर्सिने गरेको स्मरण गराइएको छ । ‘सरकार गठनका क्रममा मन्त्रिपरिषद् गठन गर्दा प्रचण्डले पूर्व माओवादीबाट कस्ता–कस्ता मान्छेलाई मन्त्री बनाउनुभएको छ ? पार्टीका वरिष्ठ नेताहरूलाई बिर्सिएर नातागोतालाई अवसर दिनुभएको छ । भनसुनकै आधारमा अर्कै पार्टीका व्यक्तिलाई राजदूत बनाउनुभएको छ । बेलामौकामा उहाँ पनि विधिपद्धति बिर्सिनुहुन्छ,’ नेपाल निकट स्रोतले भन्यो, ‘यी विषयबारे वरिष्ठ नेता नेपालले प्रचण्डलाई स्मरण गराउनुभएको छ ।’
नेकपामा विवाद चर्किएका बेला प्रधानमन्त्री केपी ओलीको प्रस्ताव बैठकमा पेश नहुँदै प्रचण्डले आफ्ना एकल प्रस्ताव र पत्रहरू प्रदेश कमिटीमा पठाएकोप्रति समेत नेपाल समूहको असन्तुष्टि छ । ‘प्रचण्ड कमरेडको प्रस्तावमा हाम्रो सहमति भए पनि अहिल्यै तल्ला कमिटीमा पठाउने कुरा भइसकेको थिएन, प्रस्तावहरू छलफलकै क्रममा थिए । छलफल टुंगोमा नपुग्दै सल्लाह नै नगरी एकलौटी ढंगले प्रदेश कमिटीमा प्रस्ताव पठाउनु उचित होइन,’ ती नेताले भने, ‘उहाँले विधिपद्धति यहाँनिर पनि कुल्चिनुभयो । यसरी मनपरी गतिविधि गर्दा पार्टी एकता सुदृढ हुँदैन ।’
नगद लेनदेनमा ओलीसँग मिल्दा नाफा !
पार्टीमा शक्ति संघर्ष चलिरहँदा नेपाल समूहले अन्तिममा उधारो सम्झौता नभई नगद लेनदेनको हिसाबकिताब गर्ने स्रोतले जनाएको छ । नेता नेपालले रुचि पार्टी अध्यक्ष बन्ने रहेकाले अहिले नेकपा नफुट्दै ओलीले अध्यक्ष छाडेर नेपाललाई अध्यक्ष बनाएमा ओली पक्षमा बहुमत पुग्ने नेपाल निकट स्रोतले जनायो । ‘प्रधानमन्त्रीले कुनै पद नछाड्ने अडान लिएपछि छोटो समयमै विवाद बल्झिएको हो, अध्यक्ष छाडेर माधव कमरेडलाई दिनुभएको भए प्रचण्डले छुट्टै राजनीतिक प्रस्ताव ल्याउने आँट नै गर्नुहुने थिएन,’ नेपाल निकट स्रोतले भन्यो, ‘अझै पनि अध्यक्ष छाडेर माधव कमरेडलाई बनाउने विकल्प केपी कमरेडसँग छ । अब उधारो हुँदैन, पार्टी अध्यक्ष नगदमा चाहिन्छ ।’
पार्टी फुटेको अवस्थामा पनि प्रचण्डले समेत एकल अध्यक्ष हुने रुचि देखाएकाले प्रचण्ड र नेपाल एकै ठाउँमा सन्तुष्ट हुने सम्भावना नरहेको स्रोतले जनाएको छ । नेता नेपाल निकटहरु त्यो अवस्थामा उनलाई एकल अध्यक्ष दिनुपर्ने धारणा राख्न थालेका छन् । ‘पार्टी फुटेको अवस्थामा ओली कमरेडले आफू प्रधानमन्त्री भइराख्न माधव कमरेडलाई एकल अध्यक्ष स्वीकार्न सक्नुहुन्छ,’ नेपाल निकट स्रोतले भन्यो, ‘हामीलाई ओली कमरेडसँगै मिल्दा बढी फाइदा देखिन्छ । तर ओली कमरेडले पटक–पटक धोका दिँदै आउनुभएकाले नगद लेनदेन नभई विश्वास गर्न सकिने अवस्था छैन ।’




प्रतिक्रिया