कोरोना व्यवस्थापनमा गण्डकीका ११ स्थानीय तह उत्कृष्ट

कोरोना व्यवस्थापनमा गण्डकीका ११ स्थानीय तह उत्कृष्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बलेवा – बागलुङ नगरपालिकासहित गण्डकी प्रदेशका ११ वटा स्थानीय तह कोरोना महामारीको व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने स्थानीय तहको सूचीमा परेका छन् । स्वास्थ्य निर्देशनालय पोखराले ११ जिल्लाबाट एक/एक स्थानीय तहलाई महामारी व्यवस्थापनमा उत्कृष्ट कार्य गर्नेको सूचीमा समावेश गरेको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले महामारी व्यवस्थापनमा उत्कृष्ट काम गर्ने स्थानीय तहको सूची माग गरेपछि विभिन्न कामको आधारमा ११ स्थानीय तह छनोट गरेर सूची तयार पारिएको स्वास्थ्य निर्देशनालयका शाखा अधिकृत नगेन्द्र पौडेलले बताए । उत्कृष्ट व्यवस्थापन गर्नेमा पर्वतको जलजला गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, म्याग्दीको मङ्गला गाउँपालिका, मुस्ताङको घरपझोङ्ग गाउँपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका, तनहुँको देवघाट गाउँपालिका, लमजुङको सुन्दरबजार नगरपालिका, मनाङको चामे गाउँपालिका, गोरखाको आरुघाट गाउँपालिका र नवलपुरको देवचुली नगरपालिका रहेका छन् ।

महामारीको समयमा क्वारेन्टाइन व्यवस्थापन, सङ्क्रमितको उपचार तथा उद्धार महामारी रोक्नका लागि गरिएको प्रयासलगायतका सूचकको आधारमा उनीहरुको मूल्याङ्कन सदरमुकाममा रहेका स्वास्थ्य कार्यालयहरुले गरेका थिए । ‘‘मन्त्रालयले मागेपछि जिल्लाबाट तथ्याङ्क मागेका थियौँ, तिनै तथ्याङ्कको आधारमा उत्कृष्ट छनोट गरिएको हो’’, पौडेलले भने ।