काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेकपामा जारी आन्तरिक विवाद सकारात्मक सन्देशसहित अन्त्य हुने बताएका छ । मन्त्री पुनले जीवन्त पार्टीभित्र अन्तरसङ्घर्ष र बहस हुनुलाई अस्वाभाविकरूपमा लिन नहुने बताएका हुन् ।
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका मन्त्री पुनले पार्टीमा जारी बहसबाट नआत्तिन देशभरका नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे । उनले नेकपा विवादलाई घर्षणको संज्ञा दिँदै त्यसबाट सकारात्मक शक्ति पैदा हुने विश्वास व्यक्त गरे ।
“हाम्रो पार्टीभित्र अहिले घर्षण उत्पन्न भएको छ । घर्षणबाट सकारात्मक र नकारात्मक दुवै शक्ति उत्पन्न हुन्छ”, उनले भने । काभ्रेको पनौतीमा रहेको नेपालकै पुरानो विद्युत्गृहको निरीक्षण गर्न मन्त्री पुन आज काभ्रे पुगेका थिए ।
निरीक्षणका क्रममा जिल्लास्थित नेकपा नेता, कार्यकर्ता र स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गर्दै मन्त्री पुनले घर्षणलाई सकारात्मक शक्तिमा बदल्ने प्रयास हुनुपर्ने बताए ।
उनले नेताबीच दूरी बढाउने नभई घटाउने काममा लाग्न र बहसमा जिम्मेवारीपूर्वक भाग लिन पनि कार्यकर्तालाई अपिल गरे । मन्त्री पुनले सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारका काममा रचनात्मक सहयोग गर्न पार्टीपङ्क्तिलाई आग्रह गरे । यस्तै सरकारले पार्टीसँगको समन्वयमा काम गर्नुपर्ने उनको भनाइ थियो ।




प्रतिक्रिया