‘सुरक्षा थ्रेट’ भन्दै पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटार सारियो

‘सुरक्षा थ्रेट’ भन्दै पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठक बालुवाटार सारियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक पार्टी कार्यालय धुम्बाराहीमा नबस्ने भएको छ । यसअघि सबै बैठक पार्टी कार्यालयमै बस्ने भनिए पनि आज दिउँसो १ बजे बस्ने सचिवालयको बैठक बालुवाटारमा बस्ने भएको हो ।

धुम्बाराहीमा बस्ने भनिएको बैठक सुरक्षा थ्रेट भन्दै बालुवाटारमा सारिएको स्रोतले जानकारी दियो । सडकमा राजावादीहरुको आन्दोलन चर्किरहेको भन्दै नेताहरुमाथि सुरक्षा थ्रेट बढेको निष्कर्ष राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयलाई दिएको थियो ।

मंसिर १३ गतेको सचिवालय बैठकले पार्टीका बैठक धुम्बाराहीमा बस्ने निर्णय गरेको थियो । तर, उक्त निर्णयलाई उल्ट्याउँदै पुनः सचिवालयको बैठक बालुवाटारमा बस्ने भएको हो ।

दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको प्रतिवेदनमाथि छलफल हुनेछ ।

गत कात्तिक २८ गते अध्यक्ष प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्री ओलीलाई विभिन्न विषयमा प्रश्न उठाउँदै १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । मंसिर १३ गते शनिबारको बैठकमा प्रधानमन्त्री ओलीले ३८ पृष्ठको लामो प्रतिवेदन सचिवालयमा पेश गरेका थिए । आजको बैठकमा यी सबै डकुमेन्टहरुमाथि छलफल शुरु हुने भएको छ ।

नेकपामा पद बाँडफाँडका विषयमा दुवै अध्यक्षबीच लामो समयदेखी जारी विवाद अन्त्य हुन सकेको छैन् । मंसिर १३ गतेको सचिवालय बैठकमा प्रधानमन्त्रीले ल्याएको प्रतिवेदन पार्टीको समस्या समाधान गर्नेमा केन्द्रीत हुनेमा भन्दा पनि आरोप–प्रत्यारोप गर्नमा मात्रै केन्द्रीत भएको भन्दै नेताहरुले असन्तुष्टी जनाइरहेका छन् ।