हामी सबैजना खतरामा छौं, कोभिड खोप नाफाको माध्यम हुनु हुँदैन: प्रधानमन्त्री ओली

हामी सबैजना खतरामा छौं, कोभिड खोप नाफाको माध्यम हुनु हुँदैन: प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसविरुद्धको खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न नहुने बताएका छन । शुक्रबार संयुक्त राष्ट्रसंघीय महासभाको ३१औं विशेष अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको खोप विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्ने बताएका छन् ।

उनले खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित नहुने बताए । प्रधानमन्त्री ओलीले खोप विकासमा प्राप्त सफलताबाट प्रोत्साहित भएको उल्लेख गर्दै धनी र गरिब सबैका लागि खोपको पहुँच सुनिश्चित गर्नमा कोभाक्सले गरेको पहलको स्वागत गरे ।

सम्बोधनका क्रममा उनले भनेका छन्, ‘खोपको विश्वव्यापी पहुँच सुनिश्चित नभएसम्म संसार महामारीबाट सुरक्षित हुने छैन । सम्पूर्ण मानवजगत संकटमा रहेको अवस्थामा जीवन–रक्षक खोप अत्यधिक मुनाफा कमाउने माध्यम बन्न सक्दैन भन्नेमा हाम्रो दृढ विश्वास रहेको छ । खोपहरु वास्तवमै विश्वव्यापी सार्वजनिक वस्तुका रुपमा सबै राष्ट्र तथा मानिसका लागि सर्वसुलभ र पहुँचयोग्य हुनुपर्दछ ।’

कोरोना महामारीबाट कोही पनि सुरक्षीत नभएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘हो, हामी सबै एउटै प्रकोपको भूमरीमा छौं । हामीमध्ये कसैलाई लाग्न सक्छ कि आफू धेरै सुरक्षित छौं, तर यस्तो होइन । हामी सबैजना खतरामा छौं ।’

महामारीले हामीलाई एउटा अमूल्य शिक्षा प्रदान गरेको भन्दै उनले भने, ‘यो संसार सानो डुंगा हो, हामी सबै यसका यात्रु हौं । हामीलाई मन परोस वा नपरोस, हामी एउटै भाग्यका हिस्सेदार हौं ।’  प्रधानमन्त्री ओलीले सम्बोधन गरेको भिडियो रेकर्ड गरेर राष्ट्रसंघ पुर्याइएको थियो ।