काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य विष्णु रिजालले बीमा कम्पनीहरूलाई संगठित ठगी मुद्धा चलाउन सुझाव दिएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत नेता रिजालले कोरोना बीमाको रकम दिन आनाकानी गर्ने बीमा कम्पनीहरूलाई संगठित ठगीविरुद्धको मुद्धा चलाएर कारबाही गर्न सरकारलाई सुझाव दिएका हुन् ।
‘बीमा कम्पनीहरूले कोरोना बीमाको रकम समयमै भुक्तानी नगरेर आफ्नो विश्वसनीयता नराम्ररी गुमाएका छन्’, रिजालले लेखेका छन्, ‘अर्थ मन्त्रालयले बारम्बार सहजीकरण र ताकेता गर्दा पनि बीमा रकम भुक्तानी गर्न आनाकानी गर्नुले उनीहरूको बीमितलाई दुःख दिने, झुलाउने र ठग्ने नियत झल्किन्छ ।’
उनले बीमा रकम भुक्तानी गर्न सकिँदैन भने बीमा नै नगर्न सुझाएका छन् । ‘भुक्तानी गर्न सकिंदैन भने बरू बीमा नै नगरे हुन्छ, यस्ता कम्पनीहरूमाथि कठोर कदम चाल्दै संगठित ठगीमा मुद्दा चलाउनुपर्छ,’ उनले भने ।
अर्थमन्त्री विष्णु पौडेलले पटक–पटक बीमा कम्पनीहरूलाई कोरोनाको बीमा रकम दिन निर्देशन दिएता पनि बीमा कम्पनीहरूले विभिन्न बहाना बनाएर बीमा रकम दिन आलटाल गर्दै आएका छन् ।




प्रतिक्रिया