टाउको फोराफोर गरेरै भए पनि एकता जोगाउनुपर्छः नेता अधिकारी

टाउको फोराफोर गरेरै भए पनि एकता जोगाउनुपर्छः नेता अधिकारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता खगराज अधिकारीले पार्टीभित्रको विवाद केन्द्रिय कमिटिसम्म ल्याउन नहुने बताएका छन् ।

आइतबार कास्कीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावको छिनोफानो गर्न नसकेर सचिवालयले आफ्नो अक्षमता प्रदर्शन गरेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओली निकट रहेका नेता अधिकारीले प्रचण्ड–नेपाल पक्षले तलसम्म गुटगत भेला गरेको आरोप लगाउँदै अब पनि सचिवालयले नै सबै कुरा मिलाउने धारणा राखे ।

 उनले आफूहरूको तर्फबाट समेत त्यस्ता भेला भएका स्वीकार गर्दै भने, ‘उहाँहरू (प्रचण्ड–नेपाल पक्ष)ले तलसम्म नै गुटगत भेलाहरू गरिरहनु नै भएको छ । हाम्रातर्फबाट पनि केही हदसम्म त्यस्ता भेलाहरू भएका होलान्, यस्तो काम गर्नु हुँदैनथ्यो, रोकिनुपर्दछ ।’
नेकपा नफुट्ने दाबी गर्दै उनले टाउको फोराफोर गरेरै भए पनि एकता जोगाउनुपर्ने बाध्यता रहेको बताए ।