काठमाण्डु– सत्तारुढ दल नेकपाको स्थायी कमिटी बैठक भोलि बस्दैछ । बैठकअघि नेकपामा सहमती खोज्ने प्रयास भने जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली निकट नेता शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग शनिवार दिउंसो भेटवार्ता गरेका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले दुवै अध्यक्ष मिलेर अहिलेको समस्या समाधान गर्ने प्रस्ताव प्रचण्डलाई राखेको स्रोतको दावी छ । उनले भदौ २६ गते भएको सहमतिअनुसार अगाडी बढ्नुपर्नेमा भेटमा जोड दिएका थिए ।
भेटमा भोलीको बैठकमा प्रधानमन्त्री ओली समेत सहभागी हुने जानकारी पोखरेलले प्रचण्डलाई दिएका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले एकलौटी रुपमा संवैधानिक आयोगका पदाधिकारीको टुंगो लगाउन खोजेको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डले असन्तुष्टि जनाएका छन् । नेकपामा पछिल्लो समयबीच प्रधानमन्त्री र अर्का अध्यक्ष प्रचण्डले आ आफ्नो गुटका बैठकहरु जारी राखेका छन् । प्रचण्ड र प्रधानमन्त्री ओलीबीच गत बुधवारदेखी भेटवार्ता भएको छैन् ।
प्रधानमन्त्री ओलीले आगामी महाधिवेशनअघि आफुले दुवै पद त्याग नगर्ने बताउंदै आएका छन् भने कार्यकारी अध्यक्ष प्रचण्डले एक पदबाट राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसंग आईतबार स्थायी समिति बैठकअघि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसंग समेत भेटवार्ता गर्दैछन् ।
नेकपामा सहमती खोज्ने भन्दै स्थायी समितिको बैठक स्थगित भएपनि यो बीचमा ठोस सहमती भने हुन सकेको छैन् । प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड पक्ष दुवै आफ्नो अडानबाट पछाडी नहटेपछि पार्टी फुट्न सक्ने अनुमान गर्न थालिएको छ ।




प्रतिक्रिया