सफाइ


” लौ हजुरले पनि यो पिल्स प्रयोग गरेको ?” विभाले सोधी ।
” किन मैले प्रयोग गर्नु हुन्न र ?” विविधाको हातबाट कन्ट्रासेप्टिक पिल्सको र्‍यापर खोस्न खोज्दै विभाले भनी ।
” अब त पर्दैन कि भन्ठानेको ।”
” केही भैहाल्यो भने भनेर हो ।”
” बरु बाबालाई नै प्रयोग गर्न भनेको भए हुन्थ्यो नि !”
” किन के हुन्छ र यो प्रयोग गर्दा ?”
” खोई के हुन्छ त थाहा छैन तर ….. !” भन्दै विविधा चूप लागी ।
” किन वाक्य अपुरै छोडेको ?”
” त्यसै मामु ।”
” भन न ।”

 

 

” अस्ति हजुरहरु नहुँदा अजस्र आएको थियो, कर त गरेको होईन तर पनि के भयो के ? नियन्त्रण गर्नै सकिएन र ….! अनि मैले पनि यो पिल्स खाएँ । तर कस्तो गाह्रो भयो, रिंगटा लागे जस्तो, भोमिट होला जस्तो भएर ….. ! अब त कहिले खान्न ।”
” ….. ।”
” यसले अरु पनि साईड ईफेक्ट गर्ला नि हगि मामु ?”
” गर्ला नि !”
” हजुरलाई चाँही त्यस्तो हुन्न मामु ?”
” साँच्चै भन्नु पर्दा यो मैले प्रयोग गरेको होईन र मलाई राम्ररी थाहा छ यो प्रयोग गर्नु हुन्न ।”
” अनि यो यहाँ कसरी ….. ?”
” आईपुग्यो ।”
” कतै यो मेरो कोठाबाट ….. ! बाबाले थाहा पाउनु भयो भने मार्नु हुन्छ, नभन्नु है मामु ।” भन्दै विविधाले हातमा भएको र्‍यापर डस्टविनमा हाली ।
” अरुले थाहा पाए मार्ने काम तिमीले किन गरेको भन त ?”
” होशै भएन मामु, तर उसले बिबाह गर्छु भनेको छ ।”
” सम्हालिनु पर्छ नि !”
” मैले चाहेर भएको होईन मामु, बेलुका आयो, मैले उसलाई जान भन्दै थिएँ तर ऊ गएन र ….. ! योजना नभएरै भयो अनि कसो गर्नु ?”
” लौ भयो, जे हुनु भैहाल्यो, अब यस्तो नचाहिने काम नगर्नु । अनि कस्तो छ विधालाई ?”
” डाक्टरले भोलि हेरौं भनेकोछ, हजुर जानुहोस् रे !”
” तिमी घर हेर है त ।”
” घर कसले उचालेर लान्छ र हेर्नु नि ? हजुरबुवालाई यताउती गर्न सम्यक छँदैछ अरु बाबा हुनुहुन्छ, म छु अनि ?”
” तै पनि !”
” तै सै म जान्दिन, भोलि दिलाई मनपर्ने खाना लिएर हस्पिटल हजुर जानुहोस्, ऊ बाबा आउनुभयो म लागें, मामु, बाबालाई नभन्नु है, नत्र मलाई नराम्रो सम्झिनु हुन्छ ।” भन्दै विविधा कोठाबाट निस्किई ।
ऊ कोठाबाट निस्किएपछि विभाले विविधाले दिएको सफाई सम्झिदै लामो स्वास फेरी ।

– ईशा शाह
काठमाडौँ ।

प्रतिक्रिया दिनुहोस
Advertisement