काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांस्द एवं स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले पार्टी फूटको संघारमा पुगिसकेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा अोलीले आइतबार संसद विघटन गरेपछि आफ्ना धारणा राख्दै नेता गजुरेलले जनमतको अपमान गर्दै देशलाई दुर्घटनातर्फ लैजाने काम भएको बताएका छन् ।
‘बहुमत प्राप्त सरकार यस्तो अवस्थामा किन पुग्नुपर्यो । यसले जनमतको अपमान गरेको छ । पार्टी फुट्ने निश्चित नै भइहाल्यो’, काठमाण्डुपाटीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेता गजुरेलले भने ।
त्यस्तै उनले आफू कुने पनि गुटको भेलामा सहभागी नहुने बताएका छन् । पूर्वमाओवादी नेतासमेत रहेका गजुरेल प्रधानमन्त्री ओलीको गुटमा मिसिएको आरोप लागे पनि उनी स्वीकार गर्न तयार छैनन् । नेता गजुरेलले आफू एकताका पक्षमा रहेकाले आजको गुटको भेलामा सहभागी नहुने बताएका हुन् ।
‘म काम विशेषले सिन्धुली गएको थिएँ । अहिले मैले धारणा बनाउन बाँकी नै छ । म अोलीको भेलामा पनि जान्न र प्रचण्डले बोलाएको भेलामा पनि जान्न । ’, उनले भने ।
प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पक्षका नेताहरुको भेला बोलाएका छन् । नेकपाका विभाजनको संघारमा पुगेको बेला नेताहरुले आफू पक्षीय सांसदहरुको भेला बोलाएका हुन् ।
हाल प्रतिनिधिसभामा नेकपाका १७४ सांसदहरुमध्ये १७३ सांसदहरु रहेका छन् ।




प्रतिक्रिया